तिब्बती क्षेत्रमा पुनः ताल फुटेको सूचना, रसुवामा सतर्क रहन आग्रह

१२ भदौ, काठमाडौं । तिब्बती क्षेत्रमा पुनः ताल फुटेको सूचना आएपछि नेपाल प्रहरीले नदी तटीय क्षेत्रमा रहेका नागरिक तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै ताल फुटेको खबर प्राप्त भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म सबैलाई तत्काल सतर्क रहन आग्रह गरेको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन आवश्यक सूचना तथा सर्कुलर जारी गरिसकिएको छ।

प्रजिअ परियारले भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ। नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ।’
चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास बनेको ठूलो ताल फुटेको जानकारी आएको हो। छोचेन खोला र पुरेपू त्साङ्पो त्रिशूली नदी प्रणालीअन्तर्गतका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन्।
ताल फुटेपछि नदीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै रसुवाको नदी तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने भएकाले सुरक्षाकर्मी तथा स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।


