गौराको रौनक बढाउँदै कञ्चनपुरका स्थानीय तहमा सार्वजनिक बिदा

कञ्चनपुर, १८ भाद्र । सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा मनाउन कञ्चनपुरका विभिन्न स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्।


गौरा पर्वको अवसरमा जिल्लाका भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा र पुनर्वास नगरपालिका तथा लालझाँडी र बेलडाँडी गाउँपालिकाले स्थानीय तहअन्तर्गत सार्वजनिक बिदा दिएका हुन्।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार नगर प्रमुखस्तरीय निर्णयबाट सुदूरपश्चिममा विशेष महत्वका साथ मनाइने गौरा पर्वका अवसरमा स्थानीय बिदा दिने निर्णय गरिएको हो।

त्यस्तै, शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पनि गौरा पर्वका अवसरमा आज पालिकाभर सार्वजनिक बिदा दिइएको जानकारी दिए।
सुदूरपश्चिमेली समुदायको मौलिक पहिचान र सांस्कृतिक परम्परासँग जोडिएको गौरा पर्व विशेषगरी महिलाहरूको सहभागिता, धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक गतिविधिसहित मनाइन्छ। पर्वका अवसरमा स्थानीय तहहरूले सार्वजनिक बिदा दिँदा जिल्लाका गाउँदेखि बजारसम्म गौराको रौनक थपिएको छ।
गौरा पर्वलाई सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ। यस पर्वले यहाँको मौलिक संस्कृति, परम्परा र सामुदायिक एकतालाई पुस्तान्तरण गर्दै आएको छ।



You must be logged in to post a comment.