घटना

केही सेकेन्डको निर्णयले जोगियो ९ जनाको ज्यान, ६ दिनपछि परिवारसँग मिलन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रसुवा, १८ भाद्र । भदौ १० गते बिहान करिब ९ बजेतिर करिस्मा सिंह तामाङको मोबाइलमा अचानक फोन आयो। फोन उठाएर ‘हेल्लो’ भन्न नपाउँदै उताबाट अत्तालिएको आवाज सुनियो, “अँ करिस्मा, म बाँचेको छु है। बाढीबाट मलाई, भाइ र सुजनलाई केही भएको छैन। हामी बाँच्यौँ।”

लोक कल्याणकारी विज्ञापन

फोन गर्ने थिए राजेन्द्र थापामगर। करिस्मा एकाएक झस्किइन्। उनले हतारिँदै सोधिन्, “कुन बाढी? कहाँ? के भयो?”

लोक कल्याणकारी विज्ञापन

राजेन्द्रले आफूहरू काम गर्ने ठाउँमा बाढी पसेपछि भागेर ज्यान जोगाएको बताए। तर कुराकानी भइरहेकै बेला मोबाइलको नेटवर्क गयो। करिस्माले पटक–पटक फोन गरिन्, तर सम्पर्क हुन सकेन।

बिज्ञापन

करिब आधा घण्टापछि राजेन्द्रको फेरि फोन आयो। करिब एक मिनेट कुराकानी भयो। त्यसपछि पुनः सम्पर्कविहीन भए।

त्यसको केहीबेरमै सामाजिक सञ्जालमा रसुवाको भोटेकोसीमा आएको भीषण बाढीका भिडियोहरू सार्वजनिक हुन थाले। भिडियो हेरेपछि करिस्माको चिन्ता झन् बढ्यो। केहीबेरअघि मात्र श्रीमान्को आवाज सुनेकी थिइन्, तर त्यसपछि उनीहरू कहाँ छन् भन्ने कुनै जानकारी थिएन।

दिन बित्दै गए। एक दिन, दुई दिन गर्दै ६ दिन बित्यो। करिस्मा मोबाइल हातमै लिएर श्रीमान्को फोनको प्रतीक्षामा बसिरहिन्।

अन्ततः भदौ १५ गते साँझ मोबाइलमा फेरि राजेन्द्रकै फोन आयो।

फोन उठाउनासाथ उताबाट आवाज आयो, “हेल्लो बुढी… हामी उद्धार भएर काठमाडौं आइपुग्यौँ है।”

छ दिनदेखि चिन्तामा रहेकी करिस्मा केहीबेर बोल्नै सकिनन्। आँसु झार्दै उनले सोधिन्, “कहाँ हो अहिले? सबै ठीक छ नि?”

राजेन्द्रले जवाफ दिए, “अँ, ठीक छौँ। भाइ पनि सँगै छ। आज काठमाडौं बस्छौँ, भोलि घर आउँछौँ।”

त्यो फोनले ६ दिनदेखि पीडामा रहेकी करिस्मालाई ठूलो राहत दियो।

राजेन्द्रसँगै उनका सालो नवीन सिन्तान र साथी सुजन गोले पनि सकुशल उद्धार भएका थिए।

बाढी आउनुअघि नै देखिएको थियो खतरा

राजेन्द्रका अनुसार बाढी आउनुअघि सुजनले खोला धमिलो भएको र पानीको सतह बढिरहेको देखेका थिए। त्यसपछि राजेन्द्रले झ्यालबाट भोटेकोसीतर्फ हेरे। अवस्था सामान्य थिएन।

उनले तत्काल नवीन र सुजनलाई उठाउँदै भने, “छिटो भाग, बाढी आयो।”

त्यसपछि उनीहरू सुरक्षित स्थानतर्फ दौडिए। नजिकैको एउटा भवनमा पुगेको केहीबेरमै बाढीले भवनको तल्लो भाग बगायो। अवस्था झन् भयावह बनेपछि उनीहरूले झ्याल फोडेर बाहिर निस्किए र जंगल हुँदै माथिल्लो क्षेत्रमा पुगे।

त्यहाँ उनीहरूले एउटा विद्यालयमा आश्रय लिए।

६ दिन चाउचाउ र चिउराको भरमा

बाढीका कारण बाहिरी संसारसँग सम्पर्कविहीन बनेका उनीहरूले विद्यालयमा ६ दिनसम्म चाउचाउ र चिउराको भरमा दिन काटे।

अन्ततः नेपाली सेनाको हेलिकप्टर उनीहरूको उद्धारका लागि पुग्यो। हेलिकप्टरमार्फत उनीहरूलाई सुरक्षित स्थान हुँदै काठमाडौं ल्याइएको थियो।

राजेन्द्रका शब्दमा, “केही सेकेन्ड ढिला भएको भए हामी बाँच्ने अवस्था थिएन।”

उनका अनुसार त्यही केही सेकेन्डमा गरिएको निर्णयले राजेन्द्र, नवीन र सुजनसहित अन्य ६ जनाको समेत ज्यान जोगिएको थियो।

बाढीले उनीहरूका कागजात, व्यक्तिगत सामान र मोटरसाइकलसमेत बगायो। तर सबैभन्दा ठूलो कुरा, ६ दिनको त्रास र अनिश्चिततापछि उनीहरू सकुशल आफ्ना परिवारमाझ फर्किए।

घर फर्किएपछि उनीहरू आँगनमा जम्मा भएका आफन्त र छिमेकीलाई बाढीको त्यो भयावह क्षण सुनाइरहेका छन्।

उनीहरूको अनुभव अहिले एउटा जीवन्त उदाहरण बनेको छ—कहिलेकाहीँ जीवन र मृत्युबीचको दूरी लामो हुँदैन, केही सेकेन्डको सही निर्णय नै जीवन बचाउने निर्णायक क्षण बन्न सक्छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन