किसान बहुउद्देश्यीय सहकारीका ७६ हजारभन्दा बढी सदस्यलाई अस्पतालमा उपचार सहुलियत

टीकापुर, १८ भाद्र । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र टीकापुरस्थित ओमकृष्ण अस्पताल तथा रिसर्च सेन्टरबीच सहकारीका शेयर सदस्य तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा सहुलियत दिने सम्झौता भएको छ।
‘स्वस्थ सदस्य, समृद्ध समुदाय’ भन्ने अवधारणासहित बुधबार आयोजित कार्यक्रममा दुवै संस्थाबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार कैलालीका टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिका र बर्दियाको राजापुर नगरपालिकामा रहेका सहकारीका सदस्य तथा उनीहरूका एकाघरका परिवारले ओमकृष्ण अस्पतालबाट उपचार गराउँदा विभिन्न सेवामा विशेष छुट पाउनेछन्।
अस्पतालले उपलब्ध गराउने सेवामध्ये जनरल बेड, क्याबिन, आईसीयू, एनआईसीयू, विभिन्न प्रकारका शल्यक्रिया, ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे तथा अस्पतालको फार्मेसीबाट औषधि खरिदमा १० देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराइने सम्झौतामा उल्लेख छ।
त्यस्तै, ओपीडी दर्ता तथा एमबीबीएस चिकित्सकको परामर्श शुल्क अधिकतम १५० रुपैयाँ कायम गरिएको छ। नियमित फलोअप परामर्श भने निःशुल्क हुने व्यवस्था गरिएको छ।
सहुलियत सुविधा लिनका लागि सहकारीले जारी गरेको शेयर सदस्य परिचयपत्र वा सम्बन्धित शाखाको सिफारिस पत्र पेस गर्नुपर्नेछ।
सम्झौताले उपचार सेवामा मात्र सीमित नरही स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा समेत सहकार्य गर्ने जनाइएको छ। दुवै संस्थाले संयुक्त रूपमा निःशुल्क स्वास्थ्य शिविर, मातृशिशु कल्याण तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएका छन्।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा हाल ७६ हजार ८८४ जना शेयर सदस्य आबद्ध रहेको जनाइएको छ। सम्झौताबाट सहकारीका सदस्य तथा उनीहरूका परिवारले सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
