वर्षाले कैलालीमा काटेर खेतमै राखिएको धानमा क्षति

टीकापुर, २२ असोज । सोमबार राति परेको भारी वर्षाका कारण कैलालीका अधिकांश क्षेत्रमा काटेर खेतमै राखिएको धानबालीमा क्षति पुगेको छ। विशेषगरी टीकापुर क्षेत्रसहित जिल्लाका विभिन्न स्थानमा काटिसकेको धान पानीले भिजेर डुबानमा परेको किसानले बताएका छन्।

पश्चिमी वायुको प्रभावका कारण कैलालीसहित पश्चिम तराईका जिल्लामा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण खेतमा काटेर राखिएको धान भिज्नुका साथै परालसमेत नष्ट भएको छ। कतिपय खेतमा पानी जम्दा काटेर राखिएको धान डुबेको किसानले बताएका छन्।

पश्चिम तराईका किसान यतिबेला धान भित्र्याउने चटारोमा छन्। मौसममा आएको परिवर्तनका कारण धान काट्ने र सुरक्षित स्थानमा राख्ने काम प्रभावित भएको छ। टीकापुर क्षेत्रका किसानका अनुसार खेतमा काटेर राखिएको धान रातभरको वर्षाले भिजेपछि ठूलो क्षति भएको छ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरीले मौसम प्रतिकूल हुन सक्ने भन्दै किसानलाई धान काट्नुअघि र काटिसकेपछि सुरक्षित स्थानमा राख्न आग्रह गर्दै आएको बताए। उनका अनुसार वर्षाको सम्भावना हुँदाहुँदै खेतमै काटेर राखिएको धान सुरक्षित नगर्दा क्षति हुने गरेको छ।
‘वर्षा हुन सक्ने पूर्वानुमानबारे किसानलाई सचेत गराउँदै आएका थियौँ,’ उनले भने, ‘तर काटिसकेको धान सुरक्षित स्थानमा नराख्दा वर्षाले क्षति पुर्याएको छ।’
ज्ञान केन्द्रका अनुसार सोमबारसम्म कैलालीमा करिब १५ प्रतिशत धान काटिसकिएको अनुमान छ। बाँकी धान खेतमै रहेकाले मौसममा सुधार नआए किसान थप जोखिममा पर्न सक्ने कृषि प्राविधिकले बताएका छन्।
किसानले काटिसकेको धान तत्काल सुरक्षित स्थानमा भित्र्याउन तथा मौसमको पूर्वानुमान हेरेर मात्र धान काट्न कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ।

