उत्तर कोरियामा कोरोना संक्रमण तिब्र, देशभरि लकडाउन गर्न निर्देशन
एजेन्सी । उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ ।
उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो।
कति जनालाई कोरोना संक्रमण भएको छ भन्ने खुलाइएको छैन ।
उत्तर कोरियाली अधिकारीहरूले पहिलो पटक आफ्नो देशमा कोरोनाको संक्रमण पुष्टि भएको स्वीकारेका हुन् ।
सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरबाट कोरोनाभाइरस फैलिन सुरू गरेको थियो। यो बीचमा कोरोना संसारभरि फैलिए पनि चीनको छिमेकी उत्तर कोरियाले आफ्नो देशमा कोरोना आइनपुगेको दाबी गर्दै आएको थियो ।
पहिलो पटक कोरोना संक्रमित भेटिएपछि अहिले उत्तर कोरियामा देशभरि लकडाउन घोषणा गरिएको छ ।
उत्तर कोरियाली शासक किम जोङ उनले वर्कर्स पार्टीको बैठकमा देशभरि लकडाउन गर्न निर्देशन दिएका हुन् ।
कोरोनाका एक जना पनि संक्रमित नभएको दाबी गर्दै आएको उत्तर कोरियाले नागरिकलाई कोरोनाविरूद्धको भ्याक्सिन पनि लगाएको छैन। कोभ्याक्स र चीनले भ्याक्सिन दिन खोज्दा उसले अस्वीकार गरेको थियो ।