राप्रपा अध्यक्ष लिङ्देनले थपे ४९ केन्द्रीय सदस्य, पौडेल र गुरुङको कमब्याक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिमा ४९ जना थप भएका छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आज ४९ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।
यसअघि राप्रपा छोडेर राप्रपा नेपालमा गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङको राप्रपा केन्द्रीय समितिमा कमब्याक भएको छ । पौडेल राप्रपा नेपालमा उपाध्यक्ष र गुरुङ कोषाध्यक्ष थिए । राप्रपाको केन्द्रीय सदस्यबाट राजीनामा दिएर राप्रपा नेपालतिर लागेका उनीहरु फेरि मुल पार्टीमा फर्केका हुन् ।

पूर्वमन्त्रीहरु जगत गौचन र रामचन्द्र राय पनि राप्रपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । उनीहरु यसअघि पार्टीको महाधिवेशनमा उपाध्यक्षमा लडेर पराजित भएका थिए । हेर्टाैंडा उपमहानगरपालिकाको मेयरमा लडेर पराजित भएका दिपक बहादुर सिंहले पनि केन्द्रीय समितिमा स्थान पाएका छन् ।
यसैगरी, शिवराज नगरपालिकाका मेयर अजय थापा, रामग्राम नगरपालिकाका उपमेयर सम्झना चौधरी, पूर्वसचिवद्वय केदारवहादुर अधिकारी र केदार न्यौपाने पनि केन्द्रीय सदस्य बनेका छन् । अन्य थपिएकाहरुमा राजाराम श्रेष्ठ, परशुराम तामाङ, रामशरण पाठक, जयलाल पुन लगायत छन् ।
राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ । अझै केही केन्द्रीय सदस्यहरु रिक्त छन् । पार्टीमा नेतृत्वप्रति असन्तुष्टि जनाउँदै केही नेताहरु राप्रपा नेपालतिर लागेसँगै लिङदेनले केन्द्रीय समिति विस्तार गरेका हुन् ।
पूर्वमन्त्री दिलनाथ गिरी लगायतका नेता राप्रपा छोडेर आज राप्रपा नेपाल प्रवेश गर्दैछन् । उनीहरुसँगै जान तम्सेका केहीलाई लिङ्देनले केन्द्रीय सदस्य मनोनयनमा समेटेको बुझिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
