टीकापुर

कारागारबाटै बर्दियाबाट चुनाव लड्ने रेशमको तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । टीकापुर घटनामा जिल्ला र उच्च अदालतले दोषी ठहर गरे पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले निलम्वित सांसद रेशम चौधरी कारागारबाटै प्रतिनिधि सभा सदस्यमा पुनः उम्मेदवार बन्ने तयारीमा जुटेका छन्।

कैलाली १ बाट श्रीमतीलाई उम्मेदवार बनाएर आफू बर्दिया २ बाट उम्मेदवार बन्ने चौधरीको तयारी छ। २०७४ को निर्वाचनमा बर्दिया २ बाट नेकपा (माओवादी केन्द्र)का सन्तलाल थारु निर्वाचित भएका थिए।

बिज्ञापन

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव घोषणा गरेसँगै निर्वाचन आयोगले तयारी थालेको छ। देशभर सबै दल र नेता तयारीमा जुट्न थालेका छन्। पश्चिम तराईमा भने निलम्वित सांसद रेशम चौधरी चर्चामा छन्।

२०७२ भदाै ७ मा भएको टीकापुर घटनामा जिल्ला र उच्च अदालतले दोषी ठहर गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका छन्। उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन्। कारागारबाटै चुनावी तयारी थालेपछि उनी चर्चाको विषय बनेकाे हाे। 

२०७४ सालको निर्वाचनमा उनी कैलाली १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। भूमिगत रुपमै चुनाव जितेका उनी यस पटक भने नागरिक उन्मुक्ति पार्टीमार्फत कारागारबाटै तयारीमा जुटेका हुन्।

गत वैशाखकाे स्थानीय निर्वाचनमा कैलाली १, २ र ३ का पालिकाहरूमा उन्मुक्ति पार्टीले जित हासिल गरेको छ। टीकापुर र भजनी नगरपालिकाको मेयर तथा जानकी र जोशीपुर गाउँपालिकाको अध्यक्षमा जितेको छ। यो क्षेत्रका १४ वटा वडाध्यक्ष पनि उन्मुक्ति पार्टीले जितेको छ।

पाँच वर्षअघि वाम र लोकतान्त्रिक गठबन्धनका उम्मदवारलाई झन्डै २१ हजार मतान्तरले पराजित गर्दै चौधरी कैलाली १ बाट निर्वाचित भएका थिए। उनले ३४ हजार ३४१ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी वाम गठबन्धनबाट नेकपा (एमाले) उम्मेदवार मदनकुमारी शाह (गरिमा) ले १३ हजार ४०६ र नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने ११ हजार २०३ मत प्राप्त गरेकी थिइन्।

चुनाव जिते पनि उनले संसद् भवनमा प्रवेश पाएनन्। २०७४ फागुन १४ गते अदालतमा आत्मसमर्पण गरे। जेलमै रहँदा २०७५ पुस १९ गते संसद्को शपथ त लिए र सांसदको लोगो लगाएर फेरि कारागार नै फर्किए।

टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको सजाय सुनायो। उनी उच्च अदालत गए। उच्च अदालतले दिपायलले पनि २०७७ पुस २ गते जिल्लाकै फैसला सदर गर्यो।

यस पटक भने कैलाली १ मा उनको ठाउँमा उन्मुक्ति पार्टी अध्यक्ष श्रेष्ठ उम्मेदवार बन्ने तयारीमा छन्। यसका लागि उनी केही समयदेखि निर्वाचन क्षेत्रमै खटिएकी छन्।

त्यस्तै, कैलाली २ मा अरुण चौधरी चर्चामा छन्। उनी कांग्रेस छोडेर असार २९ गते  उन्मुक्ति पार्टी प्रवेश गरेका थिए। कैलाली ५ बाट लक्ष्मण थारुलाई उम्मेदवार बनाउने उन्मुक्ति पार्टीको तयारी छ। थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक थारु असारमा मात्रै उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए।

लक्ष्मणलाई पनि टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैद सजाय सुनाएको थियो। उनले पनि यस विरुद्ध सर्वोच्चमा निवेदन दिएका छन्। यतिवेला भने उनी भूमिगत भएर तयारीमा जुटिरहेका छन्।

उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले कैलालीसँगै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा उम्मेदवारी दिने गरी तयारी भइरहेको बताए। स्थानीय चुनावले उत्साहित बनाएको बताउँदै पण्डित भन्छन्, “कैलालीको १, २, ३ र ४ मा हामी बलियो छौं, क्षेत्र नम्बर ५ मा भने अलि बढि नै मेहनत गर्नुपर्ने देखिन्छ।”

प्रतिनिधि सभासँगै प्रदेश सभामा पनि उम्मेदवारी दिने उनी बताउँछन्। “प्रदेश सरकार बनाउने योजना सहित तयारीमा जुटेका छौं,” उनी भन्छन्, “हामीले प्रदेश सरकार बनाउने सम्भावना पनि देखिएको छ।”

सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ क्षेत्र छन्। जसमध्ये १० क्षेत्र कैलालीमा र ६ क्षेत्र कञ्चनपुरमा छन्। मतदाता पनि यी दुई जिल्लामै बढी भएकाले सामानुपातिक तर्फ पनि राम्रो सीट आउने उन्मुक्ति पार्टीको आँकलन छ।

यस्तो वेला के रेशम चौधरी र लक्ष्मण थारु उम्मेदवार बन्न पाउँछन् ? कानुन विद्का अनुसार दुवै जना चुनाव लड्न पाउने बताउँछन्। “टीकापुर घटनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। सर्वोच्चबाट फैसला नभएसम्म उनीहरूलाई दोषी ठहर भएको मानिँदैन,” कानुन विद्को भनाई छ, “त्यसैले उनीहरू आम नागरिक झै चुनावमा भाग लिन पाउने कानूनी प्रावधान छ।”

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।