अर्थ

स्वीस बैंकमा नेपालीको पैसा कति छ ?

बिज्ञापन

दक्षिण एसियाली देशहरुमा पनि नेपाल स्वीस बैंकमा पैसा जम्मा गर्नेहरुको चौथो धनी देशमा सुचीकृत भएको छ । पाकिस्तान, भारत, मालदिभ्स, श्रीलंका, भुटान, बंगलादेश, अफगानिस्तानमध्ये नेपाल स्वीस बैंकमा पैसा जम्मा गर्ने देशहरुमा चौथो राष्ट्र हो । नेपाल, भारत, पाकिस्तान र बंगलादेश पछि दक्षिण एसियाली राष्ट्रहरुमा स्वीस बैंकमा सबैभन्दा धेरै पैसा जम्मा गर्ने देश भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बिज्ञापन

गोपनीयता कायम हुने भएपछि अवैध र गैरकानूनी तवरबाट कमाइएको पैसा राख्ने सबैभन्दा राम्रो र भरपर्दो माध्यम बनेको छ, स्वीजरल्याण्डको स्वीस नेसनल बैंक । पैसा जम्मा गर्ने व्यक्तिको कुनै पनि सूचना सार्वजनिक न गरिने भएपछि नेपालकामात्रै होइन, विश्वका सबै भ्रष्ट नेता, कर्मचारी र व्यापारीहरुले स्वीजरल्याण्डको स्वीस बैंकमा पैसा जम्मा गर्ने प्रवृत्ति बढ्दो छ ।

पछिल्ला वर्षहरुमा स्वीस बैंकमा नेपालीहरुले पैसा जम्मा गर्ने क्रम पनि बढ्दै गएको छ । शंकास्पद धन लुकाउनको लागि चर्चित स्वीस बैंकमा नेपालीहरुको पैसा बढ्दै गएको विवरणहरु सार्वजनिक भएका छन् । यसै कुरालाई पुष्टि गर्ने गरी पूर्व अर्थमन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले स्वीस बैंकमा नेपालीहरुको अर्बौ रुपैंया भएको खुलसा गरेका छन् ।

वरिष्ठ नेता लोहनीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालीहरुको अर्बौ रुपैंया स्वीस बैंकमा रहेको दाबी गरेपछि यस विषयमा बहस सुरु भएको छ । देशको अर्थमन्त्री भइसकेको व्यक्तिले नै नेपालीहरुले अर्बाै रुपैंया स्वीस बैंकमा राखेको भनेपछि अहिले यस विषयमा गम्भीर प्रश्न उठेको छ ।

उनकाअनुसार नेपालीहरुले हालसम्म झण्डै ४६ अर्ब ६४ करोडभन्दा बढी रकम स्वीस बैंकमा जम्मा गरेका छन् । डा. लोहनीकाअनुसार सन २००१ सम्म स्वीस बैंकमा नेपालीहरुको करीब ३ अर्ब ५८ करोड रुपैंया रहेको थियो । सन २०१० सम्म यो रकम बढेर १२ अर्ब ५५ करोड पुगेको र सन २०२० सालसम्म आइपुग्दा करीब ४६ अर्ब ६४ करोड पुगेको छ ।

राजतन्त्रको बेला राजपरिवारले जनता लुटेर अर्बौ रुपैंयाँ स्वीस बैंकमा राखेकोे दाबी गर्ने नेताहरु अहिले देशको कार्यकारी ठाउँमा छन । अहिले सत्ता सम्हालेका नेताहरुले त्यो बेला देशमा गणतन्त्र स्थापना गर्ने र राजामहाराजाले स्वीस बैंकमा जम्मा गरेको पैसा नेपालीलाई बाँड्ने आश्वासन दिँदै जनतालाई आन्दोलनमा उक्साएका थिए ।

तर नेपालमा गणतन्त्र स्थापना भएको पनि १५ वर्षभन्दा बढी भयो । त्यसयता राजाको पैसा नेपाल ल्याएर बाढ्छौं भन्नेहरुका पार्टी दर्जनभन्दा बढी सरकारमा सहभागी भए । कति मन्त्री भए त कति सांसद भए । कति त प्रधानमन्त्रीसमेत भए । तर यस विषयमा छानविन गर्न भने उनीहरुले कुनै ठोस नीति अबलम्बन गरेको हामीले पाएका छैनौं । राजतन्त्रका बेला स्वीस बैंकमा जम्मा ३ अर्ब चानचुन भएको पैसा अहिले १५ वर्षको अवधिमा कसरी १५ गुणाभन्दा बढीले बढ्यो ? प्रश्न उठ्ने गरेको छ । तर जवाफ दिने कोही छैन ।

राजामहाराजाको पैसा ल्याएर बाढ्छौं भन्नेहरुले नै शासन सत्ता सम्हालेपछि यो रकम १५ प्रतिशतभन्दा बढीले बढेको छ । तर यसतर्फ खोजी गर्ने र दोषीमाथि कारवाही गर्न भने कुनै राजनीतिक दल तयार देखिएका छैनन् ।

देशबाट बाहिर जाने र आउने रकमको सबै लेखाजोखा राख्नुपर्ने नेपाल राष्ट्र बैंकसँग पनि यसको कुनै विवरण छैन । आखिर राष्ट्र बैंकको आँखा छलेर अर्बौ रुपैंया कसरी स्वीस बैंकको खातामा जम्मा भइरहेको छ त ? यस विषयमा हामीले राष्ट्र बैंकसँग जवाफ माग्यौं । तर जवाफमा यसरी अवैध रुपमा विदेशमा राखिएको धनराशीको कुनै विवरण नहुने राष्ट्र बैंकले हामीलाई बतायो ।

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. तिलक रावलभन्छन्– ‘यसको निगरानी सरकारले राख्नु पर्ने हो । तर सरकार कहाँ छ मलाई थाहा छैन । जहाँसम्म राष्ट्र बैंकको सवाल छ, राष्ट्र बैंकसँग सेना, प्रहरी वा कुनै गुप्तचर हुँदैन । उसले यसमा पत्ता लाएर छानबिन गर्नसक्ने हैसियत राख्दैन । यसमा त सरकारकै अहम भुमिका हुनुपर्ने हो । तर सरकार चाहिँ कानमा तेल हालेर बसेको जस्तो लाग्छ । सत्ताधारीहरुको ध्यान चाहिँ गठबन्धन, भागबण्डा, सत्तामा टाँसिरहनेमा मै बढी केन्द्रीत रहेको देखिन्छ । त्यसैले कताकता शंका पनि लाग्छ, यी आलोपालो सत्ता हाँक्ने सत्ताधारीहरु र यिनीहरुबाट संरक्षित व्यवसायीहरुकै पैसा त बढी छैन बाहिर थन्किएर बसेको ? मलाई त अब शंका लाग्न थाल्यो ।’

मुलुकमा यस सम्बन्धमा कानून नै नभएको भने होइन । तर कानूनलाई आफू खुशी व्याख्या गर्ने ज्ञाताको कमि नहँुदा यस्तो अवस्था आएको जानकारहरुको बुुझाई छ । आम नेपाली विहान बेलुकाको छाक टार्न सकसमा रहेको बेला स्वीस बैंकमा यती धेरै अकुत धन जम्मा हुनुले देशमा भ्रष्टाचार बढ्दै गएको पुष्टि हुन्छ ।

यसैविषयलाई जोडेर ट्रान्सपेरन्सी इन्टरनेशनल नेपालकी प्रमुख पद्मिनी प्रधानाङ्ख, भन्छिन, ‘एकलाख रुपैंयाँ हामीले बंैकमा राख्दा आयश्रोत देखाउनुपर्ने, तर यत्रो रकमको कुनै आयश्रोत देखाउन नपर्ने ? यस्तो विषयमा सरकार गम्भीर नहुँने हो भने निकट भविष्यमा हाम्रो देशले नराम्रो परिणम भोग्नु पर्ने हुन्छ । एकपल्ट पहिले पनि झण्डै ब्ल्याक लिस्टमा पर्न आँटेको थियौं, त्यसबाट उम्कियौं । अब यदि यस्तै नीति नियम बनाउने हो र विदेशमा रहेको नेपालीको धन खोजेर दोषीलाई कारवाही नगर्ने हो भने हाम्रो देश श्रीलंकाको भन्दा पनि नराम्रो अवस्थामा पुग्छ ।’

कानून छलेर देशभित्र र बाहिर राखेको सम्पत्तिको अध्ययन गर्न सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग गठन गरेको पनि एक दशकभन्दा बढी भयो । तर ३० औं वर्षदेखि स्वीस बैंकमा राखिएको अवैध धनको अत्तोपत्तो छैन । जनता चनाखो र सरकार सजग नभए भोलिका दिनमा देश भ्रष्टाचारको अखडा बन्न सक्ने स्पष्ट आधारहरु देखा परेका छन ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि देशमा भ्रष्टाचार अन्त्य हुने र सुशासन कायम हुने भनिएपनि स्वीस बैंकमा जम्मा गरिएको पैसाले नेपाल भ्रष्टाचारको अखडा बन्दै गएको पुष्टि हुन्छ । रेमिट्यान्स, ऋण र अनुदानको भरमा चलेको नेपाल, स्वीस बैंकमा पैसा जम्मा गर्ने देशहरुमा भने धनाढ्य मुलुकको रुपमा स्थापित हुँदैछ ।

बिज्ञापन