
काठमाडौं : राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंले सुकुमवासीको उचित व्यवस्थापनबिना काठमाडौँ महानगर डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ।
आयोगले सबैका कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटी रूपमा अघि बढेर गल्ती गरेको बताएको छ। मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौँका अध्यक्ष श्यामकृष्ण प्रजापतिले महानगर सुकुमवासीको उचित व्यवस्थापन नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए।

उनले आयोग अहिले लागत संकलनमा जुटिरहेको र चुनावका वेला आचारसंहिता लागू भएकाले काम गर्न नपाएको दाबी गरे। उनले आयोगले लागत संकलन गरी वास्तविक सुकुमवासीको पहिचान नगरी महानगरले डोजर लिएर सुकुमवासी बस्ती भत्काउन जाने कुरा उचित नभएको बताए।
उनले सुकुमवासीलाई कहाँ व्यव्स्थापन गर्ने भन्ने बारेमा सोचेर मात्रै महानगर अघि बढ्न आवश्यक रहेको बताए। उनले (सोमवार) बिना कुनै जानकारी महानगरपालिका डोजर लिएर सुकुमवासी बस्ती छिरेको भन्दै यसले बस्तीमा त्रास पैदा भएको बताए। उनले यस्ता गतिविधि रोक्न र सही तरिकाबाट व्यवधानको हल निकाल्न वार्ताको विकल्प नरहेको दाबी गरे।
उनले भने, ‘महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँ। हामीले महानगरसँग बैठक बस्ने भन्ने सोचेका थियौँ। महानगर एकतर्फी ढंगले अघि बढेको भन्ने जानकारी पायौँ। लागत संकलन गर्ने, वास्तविक पहिचान गर्ने र उनीहरूलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारे सोचेर मात्रै अघि बढेको भए राम्रो हुन्थ्यो। एकजना पनि सुकुमवासी भूमिहीन हुन नपरोस् भन्ने हो। वार्ता बाहेकको अर्को कुनै विकल्प छैन।’
अध्यक्ष प्रजापतिले सुकुमवासीका लागि इचंगुनारायणमा बनाइएको अपार्टमेण्टमा बस्नै नदिने कुरा त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताए। उनले यसअघि पनि सो अपार्टमेण्टमा पुगेका सुकुमवासीलाई अस्वीकार गरिसकेको र अब पनि बस्न नदिने कुरा बारम्बार वडाध्यक्षले भनिरहेको भन्दै महानगरले समस्या समाधानको पहल गर्न जरुरी रहेको बताए।
उक्त अपार्टमेण्टमा १३४ परिवार राख्ने कुरा रहे पनि आयोगले लागत संकलन गरेपछि मात्रै यति नै सुकुमवासी छन् भन्ने यकिन हुने बताए।
यता सोमवारदेखि आन्दोलनरत थापाथली सुकुमवासी बस्तीका बासिन्दा भने गरिबलाई देखाएर सधैँ सरकारले भिख माग्ने काम गरिरहेको तर समस्या समाधान नगरेको आरोप लगाए। सुकुमवासी हुकुमबहादुर लामाले महानगरपालिकाले बस्ती भत्काए पनि पुनः सोही ठाउँमा बस्ने बताए।
उनले बिनाविकल्प जबरजस्ती उठाउन नहुने र सधैँका लागि सबै सुकुमवासीका समस्या समाधान हुनुपर्ने माग गरे। सुकुमवासीले गरिबको बोल्दिने कोही छैन भनेर गीत गाउँदै आएको देखेर यस्तो प्रतिनिधिले मात्रै गरिबका सपना र माग पूरा गर्छ भनेर भोट हाले पनि अहिले गरिबमाथि नै खनिएको आरोप लगाए।
सुकुमवासी बस्तीमा आज पनि बस्ती भत्किने डरले अशान्ति छ। केही समय अघिमात्रै उनीहरु काठमाडौँ महानगरको गेटमा प्रदर्शन र नाराबाजीमा निस्किएका थिए। उनीहरूले सरकार निकम्मा भएको भन्दै राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने माग राखेका छन्। उनीहरूले सुकुमवासी बस्ती प्रवेश गर्ने सबै सडक बन्द गराएका छन् भने सडकभर टायर र ढुंगा छरपस्ट देख्न सकिन्छ।
एकीकृत वागमती सभ्यता विकास समितिले मंसिर ४ गतेसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो। सोहीअनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र तनावग्रस्त छ।

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
कोरियाको पहिलो रोजाइमा नेपाली श्रमिक
गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्दामा आजबाट सुनुवाइ