राष्ट्रिय समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी उडानको चिन्ता

बिज्ञापन

रुपन्देही । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २ महिनायता रोकिएको विदेशी उडान अझै सुचारु हुन सकेको छैन । पुनः पटक उडान मिति तय गरेर पनि सार्दै आएको जजिरा एयरलायन्सले पछिल्लो पटक आगामी फागुन २५ गतेदेखि भैरहवादेखि पुनः अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रसँग प्रतिवद्धता गरेको छ ।

बिज्ञापन

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, नाट्टा लुम्बिनीले जजिरा एअरलाइन्सका प्रतिनिधिबीच छलफल गरेर नयाँ उडान मिति तय भएको हो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गरिरहेको उक्त एअरलाइन्सले केही महिनादेखि उडान गर्न सकेको छैन । जसका कारण अन्तर्राष्ट्रिय उडान रोकिएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले जजिरा एयरलाइन्सका नेपालस्थित कर्मसियल व्यवस्थापक अमित नागरथले आगामी मार्च ९ तारिखदेखि उडान पुनः सञ्चालन गर्ने जानकारी गराएका छन् । अध्यक्ष न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिदा निजी क्षेत्र निराश भएको बताए ।

‘विमानस्थल सञ्चालनमा आएसँगै यहाँ होटल सञ्चालनमा लागि अरबौं लगानी गरिएको छ । लगानी डुब्न नदिन पनि विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउनुपर्छ ।’ उनले भनेका छन् ।

जेठ २ गते उद्घाटन भएको करिब ३१ अर्ब रुपैयाँ खर्चेर बनेको विमानस्थल पूर्णरुपमा संचालन हुन सकेको छैन । जेठ २ मै सेवा सुरु गरेको सात महिनापछि जजिरा एयरलायन्सले पुनः अन्तर्राष्ट्रिय उडान गर्ने जनाएपनि निजी क्षेत्रले अझै ढुक्कसँग उडान हुने आशा गरेका छैनन् ।
गत जेठ दुई गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गरेको जजिराले हुस्सुको कारण देखाउँदै दुई महिनादेखि उडान स्थगित गरेको थियो ।

पछिल्ला दिनहरूमा मौसममा क्रमिक सुधार भएपछि उडान हुन लागेको विमानस्थल प्रशासनले जनाएको छ ।जजिराले जेठ २ गतेदेखि पुस ३ गतेसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५४ वटा उडान र त्यतिकै संख्यामा अवतरण गरेको थियो । सो अवधिमा १३ हजार ५९३ जना यात्रु विमानस्थल अवतरण गर्दा १८ हजार २५ जना यात्रुले भैरहवाबाट उडान भरेका थिए ।

जजिराले पुनः नियमित अन्तर्राष्ट्रिय उडान गर्ने भनिएपनि अरू एयर कम्पनीले चासो दिएका छैनन् । विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले मार्चदेखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नियमित उडान गर्न सक्ने बताएका छन् ।

जजिराले उडान रोकेपछि भैरहवामा रहेका निजी क्षेत्रका संघसंस्था, पर्यटन व्यवसायीलगायतले पुनः उडान सुरू गर्न माग गर्दै आएका थिए । उद्योग वाणिज्य संघ, नाट्टा लुम्बिनीका प्रतिनिधिसँग जजिराका प्रतिनिधिले फागुन २५ मा उडान नियमित गर्ने सहमति गरेको नाट्टा लुम्बिनीका प्रदेश अध्यक्ष रचना पन्तले बताएकी छन् ।

बिज्ञापन