राजनीति

कुन प्रदेशमा कतिवटा चिन्ह भएको मतपत्र ?

बिज्ञापन

काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दलको निर्वाचन चिन्ह मात्र रहेको मतपत्र हुने छ ।

बिज्ञापन

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि ४७ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ । निर्वाचन आयोगमा समानुपातिकबाट प्रतिनिधि सभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये ४७ वटा मात्र कायम भएका थिए । निवेदन दिएका मध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिन्ह लिएका छन् ।

त्यस्तै नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि संयुक्त रुपमा एउटै चुनाव चिन्ह लिएका छन् । सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले पनि साझा चुनाव चिन्ह लिएका छन् । प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० सिट छ ।

प्रदेश सभाको समानुपातिकतर्फ प्रदेश अनुसार मतपत्रमा चुनाव चिन्हको संख्या फरक छ । कर्णाली र सुदूरपश्चिममा बन्दसूची बुझाउने दलको मात्र निर्वाचन चिन्ह रहने भएको छ । तर प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भने निर्वाचनमा सहभागिताका लागि निवेदन दिएका दलको निर्वाचन चिन्हसमेत रहने भएको छ ।

जस अनुसार प्रदेश १ मा ५५ वटा निर्वाचन चिन्ह भएको मतपत्र हुने छ । त्यस्तै मधेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ । कर्णाली प्रदेशमा २८ र सुदुरपश्चिम प्रदेशमा ३४ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ । प्रदेश १ मा बन्दसूचि बुझाउने दल भने ३६ मात्र रहेका छन् ।

त्यस्तै मधेश प्रदेशमा ३६, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा ३१ र लुम्बिनी प्रदेशमा ३२ वटा दलले मात्र बन्दसूची पेश गरेका छन् । कर्णाली प्रदेशमा निर्वाचनमा सहभगिताका लागि निवेदन दिने दलको संख्या ४९ थियो । त्यस्तै सुदुरपश्चिममा ५० वटा दलले सहभागिताका लागि निवेदन दिएका थिए ।

प्रदेश सभामा प्रदेश १ बाट ३७ जना, मधेशमा ४३, बागमतीमा ४४, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिममा २१ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्य निर्वाचित हुनेछन् ।

बिज्ञापन