राजनीति

कमल थापालाई स्विकार्न एमाले मतदातालाई सकस

बिज्ञापन

हेटौंडा — आफ्नो पार्टीले गरेको निर्णय मान्ने कि विद्रोह गर्ने भनेर हेटौंडा–१७ राजदेवीका विष्णु ढुंगाना अहिले दोधारमा छन् । बहुदल प्राप्तिका लागि ०४६ मा भएको आन्दोलनमा फागुन ७ मा हेटौंडामा गोली लागेर घाइते भएका उनी एमालेका संगठित सदस्य हुन् । मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर–१ बाट उम्मेदवार बनाएपछि उनलाई दोधार भएको हो ।

बिज्ञापन

०४६ मा सञ्चार राज्यमन्त्री थापा पञ्चायतविरुद्धको आन्दोलन दबाउन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, गृह राज्यमन्त्री निरञ्जन थापासँग मिलेर सक्रिय थिए । लोकतन्त्र प्राप्तिका लागि ०६२/६३ मा भएको जनआन्दोलन दबाउँदा पनि तत्कालीन सरकारमा थापा गृहमन्त्री थिए । उक्त आन्दोलनमा ढुंगाना पनि सक्रिय थिए । कार्यकर्ताको मनोभावना नबुझी केवल सत्ता प्राप्तिका लागि पार्टीले थापालाई सूर्य चिह्न दिई उम्मेदवार बनाउने निर्णय गरेको उनको ठम्याइ छ । ‘सत्ता प्राप्त गर्न जे पनि गर्न दलहरू तयार भएको देखिन्छ । जसको कारणले गर्दा यो व्यवस्था नै रहँदैन कि भन्ने डर छ,’ गोली लागेपछि दायाँ हात माथि गर्न नसक्ने अवस्थामा रहेका ढुंगानाले पार्टीको केन्द्रीय तहबाट भएको निर्णय गलत भएको दाबी गर्छन् ।

पार्टीका पाका नेता तथा जिल्ला इन्चार्ज रामेश्वर रानाको टिकट खोसिएको झोंकमा हेटौंडा–४ स्थित पार्टी कार्यालयमा तालाबन्दी नै भयो । एमाले जिल्ला सचिव नवीन सिग्देलले कमल थापाले टिकट पाएको थाहा पाउनेबित्तिकै आफ्नो फेसबुकमा ‘अनिष्ट’ भनेर प्रतिक्रिया दिएका थिए । जिल्लामा लामो समयदेखि एमाले र थापाबीच राजनीतिक शक्ति संघर्ष चलिरहेको थियो । यस्तो अवस्थामा जिल्लाको नेता तथा कार्यकर्तासँग छलफल नै नगरी एमाले अध्यक्ष केपी ओलीले सिधै केन्द्रीयता लादेर टिकट दिए । सूर्य चिह्न लिएर मकवानपुर–१ बाट प्रतिनिधिसभाका निम्ति थापाले उम्मेदवारी दिएपछि उक्त निर्वाचन क्षेत्रका स्थानीय पाका खालका अधिकांश एमालेका कार्यकर्ता निराश छन् । ‘किन कमल थापालाई सूर्य चिह्न दिएर एमालेले चुनाव लडायो, यो बुझ्नै सकिएन,’ हेटौंडा–१७ राजदेवीका ८३ वर्षीय कृष्णप्रसाद नेपालले भने, ‘जिल्लाको इमानदार नेता रामेश्वर रानालाई रातारात पन्छाएर गाला जोडे कमल थापा र केपीले ।’

र्य चिह्न लिए पनि उम्मेदवारी दिन जाँदा थापाका साथमा एमालेका नेता तथा कार्यकर्ता थिएनन् । एमालेको प्रदेश र प्रतिनिधिसभाको अन्य उम्मेदवार एकै पटक उम्मेदवारी दिन गए पनि थापा भने एक्लै गएका थिए । सत्ता गठबन्धनबाट सबै उम्मेदवारसँगै एमालेसँगको गठबन्धनबाट उम्मेदवार बनेका थापा ‘सुटुक्क’ निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनले सूर्य चिह्नबाट चुनाव जिते भने पाँच वर्ष एमालेको संसदीय दलको विधानअनुसार चल्नुपर्नेछ । वैधानिक रूपमा उनी एमालेका सांसद हुनेछन् ।

राजतन्त्र र हिन्दु धर्मको पक्षमा लामो समयदेखि राजनीति गर्दै आएका थापा सूर्य चुनाव चिह्न लिएर उम्मेदवार त बने तर आफ्नो क्षेत्रकै एमाले अगुवा कार्यकर्ता रिझाउन गाह्रो भइरहेको छ । अघिल्लो पटक कांग्रेसको सहयोगमा आफ्नै पार्टीको चुनाव चिह्न लिएर मैदानमा उत्रिएका थापा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए । पटक–पटक हारको स्वाद चाखेका थापाले यस पटक राजनीतिक जीवनको अन्तिम चुनाव हुने बताउँदै एमालेका रुष्ट कार्यकर्ता फकाउन कोसिस गरिरहेका छन् । केही दिनअघि एमालेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका उनले एमालेको पार्टी प्रवेश कार्यक्रममा अतिथि बन्दै सम्बोधनसमेत गर्न भ्याए । हाल घरदैलोमा गरिरहेका उनी एमालेको समर्थन पाउन सार्वजनिक रूपमा एमाले अध्यक्ष ओलीको प्रशंसा गरिरहेका छन् । ‘राष्ट्रिय आवश्यकताका कारण एमालेको सहयोगमा चुनावी मैदानमा उत्रिएको छु । अहिलेको आवश्यकता राष्ट्रवादी शक्तिबीच सहकार्य गर्नु नै हो,’ थापा भन्छन् ।

आठौं पटक चुनावी मैदानमा रहेका थापाले एमालेको बलियो संगठनको बलमा चुनाव जित्ने दाबी राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौलाको छ । ‘उहाँले प्रदेशको राजधानी हेटौंडा ल्याउन खेल्नुभएको भूमिका र समग्र जिल्ला विकासमा पुर्‍याएको योगदानकै कारण निर्वाचित हुनेमा हामी ढुक्क छौं,’ बर्तौलाले एमालेभित्र रुष्टसँग वार्ता भइरहेको बताए । थापाले अरू उम्मेदवारलाई भने राप्रपा नेपालको चुनाव चिह्न तीर लिएर मैदानमा उतारेका छन् । ‘नयाँ पार्टीको चुनाव चिह्न स्थापित छैन । चुनाव जित्नका लागि भएकाले सूर्य चिह्न लिएको हो,’ बर्तौलाले भने, ‘यसलाई सहज रूपमा लिनुपर्छ । अरू क्षेत्रमा एमालेले दिएको भए सूर्य चिह्नमा उम्मेदवार उठाउँथ्यौं ।’

०४६ को आन्दोलनमा उक्त निर्वाचन क्षेत्रका एक महिलासहित ३ जनालाई गोली लागेको थियो । आन्दोलनमा राजदेवीका विष्णु ढुंगाना, हटियाका रामबहादुर भुजेल र हेटौंडा–९ की सीता बिडारी घाइते भएका थिए । पञ्चायतकालमा मकवानपुर जिल्लामा कलम थापा पञ्चायतको पर्याय थिए । त्यति बेलाका कम्युनिस्ट र कांग्रेसका कार्यकर्ताहरू उनीबाट भयभीत थिए । तर उनै थापा कहिले कांग्रेस र कहिले कम्युनिस्टबाट चुनाव चिह्न लिएर उम्मेदवार बन्न सफल भएका छन् । ०७४ मा कांग्रेसको समर्थनमा आफ्नै चुनाव चिह्नमा उनी निर्वाचनमा थिए । तर, सफल हुन सकेनन् । अहिले सूर्य चिह्नसहित एमालेको सहयोगमा चुनावी मैदानमा छन् । थापालाई उक्त क्षेत्रमा पटक–पटक पराजित गर्न सफल भएका एमाले नेता कृष्णप्रसाद दाहालले पार्टी निर्णयको फेसबुकमार्फत विरोध जनाएर काठमाडौंमा बसिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धका कारण उनले अन्तिम समयमा टिकट पाउन सफल भए । यसअघि पनि ०७४ को निर्वाचनमा राप्रपा हुँदा नै झापालागयत केही क्षेत्रमा एमालेसँग तालमेल गरे पनि थापाले भने मकवानपुरमा कांग्रेसको साथ रोजेका थिए । सोही समयमा नै एमालेको सहयोगमा मकवानपुर आउने प्रस्ताव ओलीले गरेको थापाको दाबी थियो । यद्यपि यो पटक भने ओलीले अन्तिम समयमा आएर थापालाई टिकट दिएका छन् । ओली पहिलो पटक प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री बनेका थापाले भारतीय नाकाबन्दीको समयमा ओलीलाई डटेर साथ दिएका थिए । तर, थापालाई सूर्य चुनाव चिह्नबाट लड्दा पनि सहज भने देखिँदैन । कुनै समयका सहयात्री राप्रपाबाट दीपकबहादुर सिंहले पनि यसै क्षेत्रबाट निर्वाचन लड्दै छन् । उपमहानगरपालिकाको मेयर पदमा उनले पाँचदलीय गठबन्धन र एमालेका विरुद्धमा एक्लै उठेर ल्याएको मतले धेरैलाई झस्काएको थियो । कमल थापाको आफ्नै जनमत पनि सिंहतिर नै स्थिर रहेको देखिन्छ ।

गत मंसिरमा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरी आफूलाई हराएको आरोप लगाए । राप्रपा छाडेको घोषणा गरे । पुरानै राप्रपा नेपाल ब्युँताए । राजतन्त्रको मुद्दा पनि त्यागे । उनलाई लामो समय आफूसँगै राजनीति गरेका सहकर्मीले साथ छाडेका छन् । थापा उम्मेदवार रहेको क्षेत्रबाट उनका पुराना सहकर्मी सिंहसहित कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना प्रतिस्पर्धामा छिन् ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा थापा एमालेसँगको गठबन्धनबाट उम्मेदवार बने पनि उनलाई चुनाव जित्न निकै मुस्किल पर्ने देखिन्छ । स्थानीय तहको निर्वाचनमा जिल्लाभर एउटा पनि उम्मेदवार नउठाएर थापाले एमालेलाई सहयोग गरेका थिए । थापाले कागजी रूपमा एमालेलाई सहयोग गरे पनि कार्यकर्ताले सिंहलाई मतदान गरेको आरोप एमालेजनको छ ।

स्थानीय तहको निर्वाचनमा मकवानपुरका १० स्थानीय तहमध्ये ८ वटा पालिकाको नेतृत्वमा गठबन्धन विजयी भएको छ । एमालेको लालकिल्ला गठबन्धनले स्थानीय तह निर्वाचनमा भत्काइसकेको कारण थापालाई निर्वाचित हुन फलामको चिउरा चपाएसरह हुने देखिन्छ । स्थानीय निर्वाचनमा एमालेलाई समर्थन गरेको थापाको पार्टीले मकवानपुरको कुनै पनि पदमा उम्मेदवारीसमेत दिएन । त्यसैले उनको पार्टीको पक्षमा कति मत छ भन्ने तथ्यांक पनि छैन । राप्रपा छाडेसँगै उनलाई वर्षौंदेखि साथ दिँदै आएको उनको अधिकांश कार्यकर्ताले उनको साथ छाडेका छन् । उक्त निर्वाचन क्षेत्रमा चार वटा पालिकाका ४० वटा वडा पर्छन् । हेटौंडा उपमहानगरका १५, मकवानपुरगढीको ४, बकैया गापाको १२ र वाग्मती गापाको ९ वटा वडा यस निर्वाचन क्षेत्रमा पर्छन् । स्थानीय तहको निर्वाचनमा ४० वटा वडामध्ये १४ वटा वडामा मात्र एमालेको वडाध्यक्ष विजयी भएका छन् । चार वटा पालिकामा एमालेका मेयर/उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छैनन् ।

प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन ०४८ मा पराजित भएका थापा ०५१ को मध्यावधि चुनावमा भने विजयी भएका थिए । ०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्वकाल र ०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन् उनी । ०४८ को निर्वाचनमा मकवानपुर–१ मा थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए । ०५१ को मध्यावधि चुनावमा थापाले त्यसको बदला लिए । तर, मकवानपुर–२ बाट पनि उठेका उनलाई तत्कालीन एमालेका विरोध खतिवडाले पराजित गरे । ०५६ मा थापा मकवानपुर–१ मा दाहालसँग पराजित भए । त्यसबेला दाहालले २० हजार ४४२ मत पाउँदा थापाले १५ हजार ९८५ मत प्राप्त गरेका थिए । मकवानपुर–३ बाट पनि उम्मेदवारी दिएका उनी त्यहाँ पनि एमालेका वीरबहादुर लामासँग करिब २ हजार मतान्तरले पराजित भए ।

०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उम्मेदवार बनेका थापा तेस्रो भए । ०७० को संविधानसभा निर्वाचनमा उनी प्रतिस्पर्धामा उत्रिएनन् । पत्नी प्रमिला थापालाई मकवानपुर–१ बाट उम्मेदवार बनाएर आफू समानुपातिक उम्मेदवार बनेका थिए । समानुपातिकबाट सांसद बनेका उनी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने । ०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर–१ मै फेरि उम्मेदवारी दिए । थापाका प्रतिस्पर्धी थिए, उनै तीन पटक प्रतिस्पर्धा गरेका दाहाल । तर उक्त निर्वाचनमा पनि थापा पराजित भए । कांग्रेस–राप्रपाको गठबन्धनलाई माओवादी–एमाले गठबन्धनका दाहालले करिब ६ हजार मतान्तरले थापालाई पराजित गरेको थियो । दाहालले ४० हजार ६३१ मत पाउँदा थापाले ३४ हजार ६३५ मत ल्याएका थिए ।

-साभार : कान्तिपुर

बिज्ञापन