राजनीति

मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध गरिँदैछ : प्रधानमन्त्री

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताएका छन् । बुधबार नेकपा माओवादी केन्द्र सम्बद्ध युवा महिलाको भेलालाई सम्बोधन गर्दै उनले सरकारले गरेका राम्रा कामबाट तर्सिएर प्रतिपक्षीले संसद् अवरोध गरेकोे बताएका हुन् ।

बिज्ञापन

‘मैले एउटा पुस्तक विमोचनमा सन्दर्भवश भनेको कुरालाई बङ्ग्याएर संसद् अवरुद्ध गर्ने कोसिस हुँदैछ । खासमा यसको अर्थ अर्कै छ । मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन आज संसद्बाट पास हुने कार्यसूची थियोे’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छ । भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद् अवरुद्ध गरिँदैछ ।’

सरकारले भ्रष्टाचारविरुद्ध लडाइँ थालेको उल्लेख गर्दै उनले सुशासनको लडाईंमा आफूहरुले जित्ने दाबी गरे । ‘हामी सुशासनको पक्षमा, भ्रष्टाचारविरूद्धको लडाइँ लडिरहेको छौँ, यो लडाइँमा हामी जित्छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘विगतमा हामी विभाजित भयौँ, त्यसले कमजोर पनि भयौँ । तर अहिले परिस्थिति फेरिएको छ । माओवादी धाराका सबै शक्ति एकताबद्ध हुँदैछौँ । विसं २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ ।’

उनले युवा तथा महिलालाई सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लाग्न निर्देशन दिनुभयो । आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको जनाउँदै उहाँले भ्रमणका क्रममा भएको सम्झौताबाट नेपालले ठूलो लाभ लिने बताए ।

‘विद्युत् व्यापार सम्झौता सामान्य कुरा होइन । १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ’ प्रधानमन्त्रीले भने, ‘सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ । यो अत्यन्तै महत्वपूर्ण छ ।’

बिज्ञापन