राष्ट्रिय समाचार

गुण्डा नाइके समिरमान बस्नेतलाई जन्मकैद

बिज्ञापन

काठमाडौं । गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो ।

बिज्ञापन

काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि हत्यामा मुख्य योजनाका रहेका भनिएका समिरमान सिंह बस्नेतसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको छ ।

हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद सजाय सुनाइएको छ भने समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको छ । यसअघि १२ असारमा न्यायाधीश घिमिरेको इजलासलाई २४ जना प्रतिवादीमध्ये ६ जनालाई सफाइ दिई अन्यको हकमा कसुर निर्धारणका लागि बुधबारको पेसी तोकेका थिए ।

२०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ मा पर्ने प्रयागचोकमा दिउँसो २ः५० बजे गोली प्रहार गरी हत्या गरिएको थियो ।

सो घटनामा संलग्न भन्दै प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पछि बुझ्दै जाँदा घटनामा समिरमानसिंह बस्नेतको श्रीमती माया शेरचनको समेत संलग्नता खुलेको भन्दै पूरक अभियोगमार्फत माया शेरचनविरुद्धसमेत मुद्दा दायर गरिएको थियो ।

२४ जनाविरुद्ध दायर मुद्दामा अदालतले प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, शिवजी महतो कमकर, सूर्यबहादुर बाजी, राजकुमार साह र श्याम गुप्तालाई आरोपित कसुरबाट सफाइ दिने फैसला सुनाएको थियो ।

२४ जना प्रतिवादीमध्ये ६ जनालाई सफाइ दिई केही फरार प्रतिवादीलाई मुल्तबीमा राखी अन्यको हकमा दोषी ठहर गरिएको थियो । उक्त घटनामा प्रमुख योजनाकार समिरमान सिंह बस्नेत रहेको दाबी गरिएको थियो । २०७४ पुस २८ गते दर्ता भएको उक्त मुद्दामा समिरमान सिंह बस्नेतको श्रीमती माया शेरचनलाई भने २०७५ मंसिर १९ गते मात्रै पूरक अभियोग ल्याएर प्रतिवादी बनाइएको थियो ।

बिज्ञापन