Sudur Pradesh News

कञ्चनपुर क्षेत्र नं १ का उम्मेदवार वीना मगरलाई आयोगको स्पष्टीकरण

बिज्ञापन

काठमाडौं । निर्वाचन आयोगले कञ्चनपुर क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार वीना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

मगरले निर्वाचन क्षेत्रअन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिताविपरीत हुने गरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

मगरलाई पत्र कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी बेलौरी नगरपालिकामा निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम भएको छैन भन्ने आधार कारण के छ ? तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो ?’

बिज्ञापन

निर्वाचन आचारसंहिता २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ख) मा ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने’ र खण्ड (ण) मा ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित पच्चीसजना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने’ व्यवस्था छ ।

बिज्ञापन
बिज्ञापन