कृषि

सडकमा कुखुरासहित व्यवसायी प्रदर्शनमा

बिज्ञापन

नेपालगञ्ज, चैत २ गते । भारतबाट कुखुराको अवैध आयात नरोकिएकाले  व्यवसाय धराशायी भएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरासहित आन्दोलन गरेका छन् । 

बिज्ञापन

नेपालगञ्जको गणेशमान चोकमा करिब तीन सय कुखुरासहित अवैध आयात रोक्न माग गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

भारतबाट अवैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा बाध्य भएर आन्दोलन गर्नुपरेको अलि पोल्ट्री फारमका सञ्चालक असगर अलि कुरैशीले बताउनुभयो । 

उहाँले आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताउनुभयो । 

जमुनाहा, साई गाउँ र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अवैध कुखुरा नेपालमा आउने गरेको किसानहरुको गुनासो छ । 

पटक पटक व्यवसायीले आफैँ गएर अवैध कुखुरा पक्राउ गरी प्रहरीलाई बुझाउँदा पनि कारवाही नभएको नेपाल पोल्ट्री व्यवसायी संघ बाँकेका सचिव प्रदीप कँडेलले बताउनुभयो । 

भारतबाट अवैध रुपमा ल्याइएका कुखुरा सस्तोमा पाइने भएपछि विक्रेताहरुले नेपाली किसानका कुखुरा किन्न छोडेकाले व्यवसाय नै धरापमा परेको उहाँको गुनासो छ । 

यसैबीच, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले आन्दोलनस्थलमा पुगेर आन्दोलित व्यवसायी र किसानलाई भेटेर अवैध आयात रोक्ने र त्यस्तो कार्य गर्नेलाई कारवाही गर्ने आश्वासन दिनुभएको छ । 

बिज्ञापन