दैवीप्रकोप

भजनीका बाढी प्रभावितलाई एक छाक टार्न समस्या

बिज्ञापन

टीकापुर । भदौ ३०÷३१ गते भएको अविरल वर्षाको कारण डुबानमा परेका भजनी वासीहरुलाई एक छाक टार्नको समस्या भएको छ । अहिले उनीहरुलाई बिहान–वेलुका हामुख जोड्ने समस्याले सताएको छ । बिहान खाए, वेलुका के खाने समस्याले चिन्तामा पारेको छ । उक्त दिनमा आएको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुपरको थियो । पूर्ण रुपमा विस्थापित भएकाहरु यतिबेला भत्केको घर निर्माणमा जुटेका छन् भने आंशिक रुपमा विस्थापित भएका राहतका लागि नगरपालिका धाउनमै व्यस्त देखिन्छन् ।

बिज्ञापन

चाडपर्व आएसँगै भजनीका अधिकांशको घरमा यतिबेला अन्न छैन । बाढीले क्षति पु¥याएका स्थानमा कयौँको घरमा भएको अन्नपात बाढीमै बग्यो भने कयौँको बाढीले भिजेर पूर्ण रुपमा नष्ट भएको छ ।

बाढीका कारण विस्थापित भएका तुल कुमार चौधरी राहतका लागि नगरपालिका आएका छन् । घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि खानका लागि घरमा केही नहुँदा त्यसैको जोहोका लागि नगरपालिका आएको उहाँ चाडपर्वको समयमा भएको विपत्तिले निकै अप्ठ्यारोमा पारेको सुनाउनुहुन्छ । “८ जनाको परिवार छ । घरमा खानका लागि केही छैन ।“ उहाँ भन्नुहुन्छ, “के खाने, के लगाउने निकै समस्या छ । परिवार पाल्नुछ । खेती पाक्न अझै महिना दिन लाग्छ ।”

सोही ठाउँका बिमल चौधरी पनि बाढीका कारण विस्थापित भएका छन् । घरको अन्नपात बग्यो । खेतमा लगाएको धानबाली नष्ट भयो । शरीरमा लगाएको एक जोर लुगाभन्दा केही पनि बचाउन नसकेका बिमललाई पनि खानको निकै समस्या भएको छ । नगरपालिकाले दिएको राहतले एक दुई छाक टार्न भ्याए पनि अरु दिनको जोहो कसरी गर्ने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ । “घरमा खानलाई केही छैन । लगाउनलाई न त लुगा ।“ उहाँ भन्नुहुन्छ, “चाडपर्व आए, आफूहरु त जसोतसो चुप बसौँला, तर बालबालिकालाई कसरी मनाउने भन्ने पीर छ ।”

त्यस्तै भजनी –३ का राजेन्द्र विक अझै घर फर्कनुभएको छैन । परिवारका अन्य सदस्य घर फर्किएको भए पनि आफू अझै हुलाकी सडकको त्रिपालमै बस्दै आएको उहाँ बताउनुहुन्छ । “घर लिपपोत हुँदैछ । गाईवस्तुको गोठ भत्केका कारण अन्त बाँध्ने ठाउँ नभएपछि तिनको रेखदेखको लागि हुलाकी सडकमै छु ।” उहाँ भन्नुहुन्छ, “गोठ बनेपछि घर गाईवस्तु लिएर जानुपर्ला ।” उहाँ घर पुगेर अस्तव्यस्त घरको अवस्था, हिलाम्मे आँगन, भत्केका घरका भित्ताले मन थाम्न मुस्किल हुने गरेको बताउनुहुन्छ ।

भजनीका बाढी प्रभावितलाई सबैभन्दा ठूलो समस्या नै खाद्यान्नको भएको छ । घरको सबै अन्नपात केही बगेर त केही भिजेर नष्ट हुँदा यतिबेला ती पीडित परिवारलाई के खाने भन्ने चिन्ताले सताएको छ । खेतमा लगायतको धानबाली पनि कैयौँ किसानको नष्ट भएको छ । बाँकी रहेको धान भित्र्याउन पनि अझै महिना दिन लाग्ने स्थिति छ ।

बाढीका कारण विस्थापित भएका करिब सात हजार परिवारलाई नगरपालिकाले आवश्यक खाद्यान्न उपलब्ध गराउन सक्ने स्थिति पनि छैन । “हाम्रो चिन्ता पनि नागरिकलाई भोको हुन नदिन के गर्न सकिन्छ भन्ने नै हो ।”

बिज्ञापन