बिश्वसहयोग तथा उदारस्वास्थ तथा सरसफाइ

छैठौं अन्तराष्ट्रिय योग दिवस सम्पन्न

बिज्ञापन

जगतकुमारी जैशी टीकापुर, ०७ असार

बिज्ञापन

कैलालीको टीकापुरमा छैठौं अन्तराष्ट्रिय योग दिवस आज सम्पन्न भएको छ । पतञ्जली योग नगरसमिती टीकापुरको आयोजनामा टीकापुरको व्लक नं. ३३ समितीपुर स्थित योग साधना केन्द्र सहितका टीकापुरका अन्य योग साधना केन्द्रहरुमा समेत योग दिवसको कार्यक्रम आयोजना गरिएको पतञ्जली योग नगरसमिती टीकापुरका संचार प्रभारी प्रेम भट्टाईले जानकारी दिनुभएको छ ।

कोरोना भाइरस महामारीका कारण वृहत रुपमा योग दिवसको कार्यक्रम आयोजना गर्न नसकिएपनि विभिन्न योग केन्द्रहरुमा थोरै थोरै मानिसहरु जम्मा भएर भौतिक दुरी कायम गर्दै योग साधना सहित छैठौं अन्तराष्ट्रिय योग दिवसका कार्यक्रमहरु सम्पन्न गरिएको जनाइएको छ । पतञ्जली योग नगरसमिती टीकापुरका अध्यक्ष बाशुदेव बज्गाईको सभापत्त्विमा टीकापुर १ स्थित पतञ्जली योग साधना केन्द्रमा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्य प्रमुख अतिथि रहनुभएको थियो ।

पतञ्जली योग समिती कैलाली जिल्लाका पूर्व महामन्त्रि सर्वानन्द चपाईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन छबिलाल जैशीले गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि आचार्यले योगले मानिसको रोग प्रतिरोधि क्षमता बढाउने भएकोले सबैले योग गर्नु अति आवश्यक भएको बताउनुभयो ।

परापूर्वकालदेखि चलिआएको योग साधनाको माध्यमबाट मानिसहरु निरोगी भएर जीवन यापन गर्नसक्ने कुरा प्रमाणित भैसकेकोले अहिलेको महामारीलाई मध्येनजर गर्दै सबैले आवश्यक सावधानी अपनाउँदै योगमा जोडिन अपरिहार्य भएको आचार्यको भनाइ रहेको छ । आचार्यले भन्नुभयो, ‘अब कोरोनाको डरले लुकिराख्नपनि नसकिने र डर नमानेर बाहिर दौडिहाल्नपनि नसकिने अवस्था रहेकोले आवश्यक स्वास्थ्य सुरक्षा सावधानीहरु अबलम्बन गर्दै आफ्नो दैनिक जीवन यापनका क्रियाकलापहरु अगाडि बढाउनुको विकल्प छैन ।

कार्यक्रममा पतञ्जली योग समिती सुदूरपश्चिम सदस्य तारा खरेल, होटेल व्यावसायी महासंघका महासचिव बिरमञ्जन बटाला, पतञ्जली योग नगरसमिती टीकापुरका पूर्व अध्यक्ष मुक्तिनाथ रेग्मी, पतञ्जली योग समिती कैलाली जिल्ला सहित्य प्रभारी कान्तिप्रसाद ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अन्तराष्ट्रिय योग दिवसको प्रोटोकल अनुसार योग प्रशिक्षक छबिलाल जैशीले योग अभ्यास गराउनुभएको थियो ।

विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाईन्छ । सन् २०१४ वाट मनाउन शुरु गरिएको यस योग दिवसको शुरुवाती सुत्रधार व्यक्तित्वहरुमा सदगुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिईन्छ । योग दिवसको यो सुत्र संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकांकका रुपमा समेत लिइएको छ ।

व्यक्तिगत शान्ति र स्वास्थ्यबिना विकास र समृद्धि सम्भव नभएको विश्व समूदायले बुझिसकेको कुरो हो । योग सूत्रको श्रेय आदियोगी भगवान् शिवलाई मानिन्छ । शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो । वास्तुकला अध्ययन अनुसार आदिनाथ भगवान शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ ।

योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मुर्ति विश्वप्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योगशास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनलाई पूजा गर्ने गरिन्छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतीक सांस्कृतिक सम्पदाको रुपमा सन् २०१६ बाट दर्ता गरेको छ ।

बिज्ञापन

Leave a Reply