राष्ट्रिय समाचार

अछामका ५५ मतदान केन्द्र अति संवेदनशील

बिज्ञापन

अछाम । स्थानीय तह निर्वाचनमा जिल्ला सुरक्षा समितिले ५५ मतदान केन्द्रलाई अति संवेदनशीलमा राखेको छ । जिल्लामा २०७ मतदान केन्द्र मध्ये ५५ लाई अति संवेदनशील, ५४ संवेदनशील, २१ सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले जानकारी दिए ।

बिज्ञापन

जिल्लामा १ सय ३० मतदान स्थल रहेका छन् । मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा घेरा निर्माण गरेर भयरहित, स्वतन्त्र तरिकाले मतदान गराउने सुरक्षा निकायले योजना बनाएको उनले बताए । उनले भने, ‘विगतको स्थानीय तहको निर्वाचन समिक्षा,भुगोल,सुरक्षाको अवस्था र बाटोको पहुँचको अवस्था हेरेर ३ भागमा वर्गीकरण गरेका छौं ।
अहिले मतदान केन्द्रको स्थलगत अनुगमन गरेका छौं र त्यहाँ अपनाउनुपर्ने सुरक्षा सतर्कताको बारेमा काम गरिरहेका छौं । निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछि ¥यालीसम्मका लागि सुरक्षा व्यवस्था तयार पारेका छौं ।’

६ गाउँपालिका, ४ नगरपालिका रहेको अछाममा बिहीबार निर्वाचन कार्यालय स्थापना गरिने छ । मतदानस्थलको सुरक्षा अवस्थालाई हेरेर सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी मरासेनीको भनाइ छ ।

मतदान केन्द्रको पहिलो सुरक्षा घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी तथा तेस्रो घेरामा नेपाली सेना रहने छन् । भौगोलिक विकटता, सहज रूपमा सवारी साधनको अवागमन नहुने, सुरक्षाकर्मीलाई हिँडेरै मतदान केन्द्रसम्म जानुपर्ने निर्वाचन सुरक्षा चुनौती रहेको प्रजिअ मरासेनीले बताए । निर्वाचनलाई मध्य नजर गर्दे सो अवधि भर लाइसन्स प्राप्त हातहतियार बुझाउन सुचना जारी गरिएको छ ।

जिल्लामा १ लाख ५६ हजार २ सय ८० मतदाता संख्या रहेको छ । ०७४ सालको निर्वाचन भन्दा यो पटक २८ हजार ५ सय ४० मतदाता संख्या थपिएको छ। ०७४ सालको निर्वाचनमा १ लाख २७ हजार ७ सय ४२ मतदाता रहेकोमा ३७ हजार ५ सय ५५ मतदाता निर्वाचनमा सहभागी नभएको तंथाक रहेको छ ।

बिज्ञापन