राजनीति

१२ हजार स्वतन्त्र उम्मेदवारलाई २७ थरीका निर्वाचन चिन्ह वितरण
धनगढीका गोपाल हमालले पाए आँप चुनाव चिन्ह

बिज्ञापन

धनगढी । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिह्न दिएको छ । स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले आफ्नै दलको चिह्न पाएका छन् भने स्वतन्त्र उम्मेदवारले आयोगले तय गरेको चिह्न पाएका छन् । आँपदेखि भुइँकटहर, लौरो, भ्यागुतो र कैंची चिन्ह बोकेर स्वतन्त्र उम्मेदवार मैदान उत्रिएका छन् ।

बिज्ञापन

धनगढी उपमहानगरपालिकाबाट मेयर पदमा स्वतन्त्र उम्मेदवार दिनुभएका गोपाल हमालले चुनाव चिन्ह आँप पाएका छन् भने काठमाडौ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र (बालेन) शाहले लौरो चुनाव चिन्ह लौरो पाउँदा सर्वाधिक चर्चामा रहेको छन् । त्यस्तै चितवनको भरतपुर महानगरको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले भुइँकटहर चिन्ह पाउनुभएको छ ।

कास्कीको पोखरा महानगरपालिकाका स्वतन्त्र उम्मेदवार अटेरी समूहका गनेश पौडेलले लौरो चिन्ह पाउँदा तनहुँको व्यास नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले कैँची चुनाव चिह्न पाउनुभएको छ ।

शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि निर्वाचन आयोगले शनिबार उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको हो । स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची छ । त्यही सूची अनुसार जिल्ला निर्वाचन कार्यालय हुँदै पालिका निर्वाचन कार्यालयले उम्मेदवारलाई चिह्न वितरण गरेको हो ।

आयोगले स्वतन्त्र उम्मेदवारहरूका लागि भ्यागुतो, गुलावको फूल, भूइँकटहर देखी खसीको टाउको जस्ता निर्वाचन चिह्न वितरण गरेको छ । बिरालो, खरायो, जेब्रा, भालु, अर्ना, कंगारुदेखि बँदेलसम्मका जनावर, काग, चील, हाँसजस्ता पन्छीदेखि आँप, भुइँकटहर र केराजस्ता फलफूल तथा गुलाबको फूल चुनाव चिह्न आयोगले तय गरेको थियो ।

त्यस्तै, भ्यागुतो, लाल्टिन, मुढा, घण्टाघर, ग्यास सिलिन्डर, प्रेसर कुकर, चुलेसी र कपप्लेटजस्ता घरायसी प्रयोगमा आउने सामग्री पनि निर्वाचन चिह्नका रूपमा राखेको र तिनै चिह्नहरू स्वतन्त्र उम्मेदवारलाई वितरण गरेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कअनुसार स्थानीय तह निर्वाचनका लागि देशभरि विभिन्न पदमा मनोनयन दर्ता गरेको साढे एक लाख उम्मेदवारमध्ये १२ हजार ७ सय ८९ स्वतन्त्र उम्मेदवार छन् ।

निर्वाचन आयोगले यसपटकदेखि आयोगमा दर्ता भएका सम्पूर्ण दललाई उनीहरूकै चुनाव चिन्हको आधारमा निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरेको छ । यसअघि राष्ट्रिय मान्यताप्राप्त दलहरूले मात्र आफ्नो निर्वाचन चिन्हमा चुनाव लड्थे । बाँकी दलहरूलाई निर्वाचन आयोगले तोकिदिने गरेको थियो ।

बिज्ञापन