राजनीति

दमकमा राप्रपा–कांग्रेससहितको ‘महागठबन्धन’

बिज्ञापन

दमक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा यसपालिको स्थानीय तह निर्वाचन रोचक बनेको छ ।
केन्द्रीय गठबन्धनमा नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका मुख्य दलले दमकमा एक ठाउँमा हुँदा नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ ।
दमकमा एमालेविरुद्ध राप्रपाको नेतृत्वमा नेपाली कांग्रेस सहितको ‘महागठबन्धन’ बनेको छ । २०४६ सालपछिका सबै स्थानीय निर्वाचनमा एमालेको वर्चस्व रहेको दमकमा यसपालिको नतिजामा सबैको चासो हुने देखिन्छ ।

बिज्ञापन

राप्रपा नेतृत्वको कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लगायत दलको संयुक्त मोर्चासँग एमाले दमकले प्रतिस्पर्धा गर्दैछ । एमालेको ‘लालकिल्ला’ भत्काउन सबै दल एकजुट भएका छन् ।
यसपालि चुनावमा एमालेलाई ‘लालकिल्ला’ जोगाउनुका साथै अध्यक्ष ओलीको इज्जत जोगाउनुपर्ने चुनौती समेत छ ।

एमालेले गीता अधिकारीलाई मेयरको उम्मेदवार बनाएको छ भने गठबन्धनको तर्फबाट राप्रपाका राम थापा चुनावी मैदानमा छन् । केही हप्ताअघि मात्रै ओलीले भनेका थिए, ‘एमाले क्वीन्टलको ढक हो भने अरु ५ दल किलोका ढक हुन् ।’ ओलीले भनेजस्तै गीता क्वीन्टलको ढक हुन् वा होइनन् ? फैसला दमकका जनताको हातमा छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशको उद्घाटन सत्रमा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई ‘हिँड्न नजान्ने गाईको बाच्छो’ सँग तुलना गरेका थिए । त्यसपछि ओलीसँग लिङ्देन टाढिँदै गएका राप्रपा नेताहरू बताउँछन् तर एमालेले राप्रपासँग तालमेल गर्न निकै कोसिस गरेको थियो । राप्रपाले मेयरबाहेक अन्य पदमा चुनावी गठबन्धन गर्न नसकिने अडान लिएपछि दमकमा एमाले एक्लै लड्ने निष्कर्षमा पुगेको थियो ।

सत्ता गठबन्धन र एमाले दुवैको तानातानमा रहेको राप्रपा मेयरको बार्गेनिङ गरिरहेको थियो । राप्रपालाई मनाउने दौडमा सत्ता गठबन्धनले जित्यो । राप्रपालाई मेयर दिएर भए पनि गठबन्धन बन्यो, जसलाई दमकमा ‘महागठबन्धन’ भन्न थालिएको छ । मेयर दिन नसकिने एमालेको अडानले राप्रपालाई सत्ता गठबन्धन नजिक पु¥याएको हो ।

२०४९ सालयताका ३ वटै स्थानीय निर्वाचन जितेको र अध्यक्ष केपी शर्मा ओलीको गृहनगर समेत भएका कारण मेयर पद नै राप्रपालाई सुम्पिन नसक्ने बाध्यता एमालेलाई थियो । ओलीको प्रतिष्ठासँग जोडिएकाले पनि एमालेले राप्रपालाई मेयर छाड्न मानेन ।

राप्रपाका प्रदेश अध्यक्ष राम थापालाई प्रमुख र कांग्रेसकी रेगिना भट्टराईलाई उपप्रमुखको उम्मेदवार बनाएर ‘महागठबन्धन’ चुनावी मैदानमा होमिएको छ । १० वडा रहेको दमकमा राप्रपाले मेयरसहित २ वडा, कांग्रेसले उपप्रमुखसहित ४ वडा र माओवादीले ४ वडामा उम्मेदवार उठाएको छ ।

नेकपा एकीकृत समाजवादीले झापामा छुट्टै उम्मेदवार बनाएको छ । जसपाले वडा सदस्य लिएर आफूलाई गठबन्धनमै उभ्याएको छ ।

हालकी उपमेयर अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखको उम्मेदवार बनाएर एमाले एक्लै चुनावी मैदानमा छ । दमकमा प्रभावशाली रूपमा आफूलाई उभ्याएर हालसम्मका सबै चुनाव जितेको एमालेलाई मुख्य विपक्षी दलहरूले घेराबन्दी गरेका छन् ।

गत चुनावमा नेकपा एमालेका रोमनाथ ओलीले १० हजार ८०६ मत ल्याएर प्रमुखमा जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजार ६५५ र नेकपा माओवादी केन्द्रका गगन पुरीले ६ हजार ८९८ मत पाएका थिए । कांग्रेसका ढुण्डीराज पोखरेलले ५ हजार ५३९ मत ल्याएका थिए । हाल एमालेले मेयरको उम्मेदवार बनाएका गीता अधिकारी उपमेयरमा १२ हजार ६२५ मत ल्याएर विजयी भएकी थिइन् ।

उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले ८ हजार ९१२ मत ल्याएकी थिइन् भने राप्रपाकी रिता बस्नेतले ४ हजार ४९८ मत ल्याएकी थिइन् । नेकपा माओवादी केन्द्रकी शान्ति धिमालले ४ हजार ३७४ मत ल्याएकी थिइन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको काम नै एमालेका लागि जित्ने आधार भएको एमालेका नेता समेत रहेका बहालवाला मेयर रोमनाथ ओली बताउँछन् । ‘गठबन्धनभित्र असन्तुष्टि छ, चुनाव प्रचारप्रसारमा हिँड्दा नेताहरू मात्रै हिँड्नुहुन्छ, जनता हिँड्दैनन्,’ उनले भने । गठबन्धन भएकै कारण दमकमा जीत हासिल गर्न सहज भएको उनले बताए ।

बिज्ञापन