राजनीति

मैले उम्मेदवारी फिर्ता लिएको भन्दै झुटो हल्ला फैलाइँदैछः गोपाल हमाल

बिज्ञापन

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी प्रसारप्रसार गर्दा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न च्यातिएको नमुना मतपत्र प्रयोग गरिएको आरोप लागेको छ । स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको हल्ला फैलाएर त्यस्ता प्रकारका मतपत्र प्रयोग गरिएको धनगढी वडा नम्बर ४ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका सिद्धराज पनेरुले बताए ।

बिज्ञापन

‘धनगढीको मेयरमा उम्मेदवारी दिएका गोपाल हमाल लगायत सम्पूर्ण स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले झुटो हल्ला फैलाएका छन्। त्यस्ता अराजक मान्छेहरुले हाम्रो चुनाव चिह्न आँपलाई नमुना मतपत्रबाट च्यातेर, हटाएर प्रचारप्रसार र मतदाता शिक्षा दिइरहेका छन्,’ उनले भने । यस्तै वडा ३ का स्वतन्त्र वडाअध्यक्ष उम्मेदवार दानबहादुर विष्टले आफ्नो वडामा यस्तै प्रकारका कार्य भइरहेको बताएका छन् । उनले पनि नमुना मतपत्रमा आफ्नो चुनाव चिह्न आँप च्यातेर विपक्षी दलले प्रचार गरिरहेको गुनासो गरेका छन् ।

यस विषयमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले विरोध गरेका छन् । ‘मैले उम्मेदवारी फिर्ता लिएको भनेर बजारमा हल्ला फैलाइएको छ । त्यो सरासर झुटो हो । नमुना मतपत्रमा नै हाम्रो चुनाव चिह्न आँप हटाएर उम्मेदवारी फिर्ता लिएको हो भन्दै आफ्नो पार्टीको प्रचार गर्दैछन् । तर धनगढीका जनता चेतनशील छन्। त्यस्तो भम्रमा पर्दैनन्,’ उनले भने ।

कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले नमुना मतपत्रमा अन्य उम्मेदवारको चुनाव चिह्न नराखेर अथवा च्यातेर प्रचारप्रसार गर्दा कुनै आचारसंहिता नलाग्ने बताएका छन् । ‘निर्वाचन कार्यालयको नमुना मतपत्रलाई कुनै उम्मेदवारले आफ्नो मात्रै चुनाव चिह्न राखेर प्रचार गर्दा आचारसंहिता उल्लंघन हुँदैन तर त्यस्तो कतै भएको छ भने हामीले समन्वय गरेर बुझ्छौं’ उनले भने ।

बिज्ञापन