राष्ट्रिय समाचार

भारतको बाटो हुँदै भोटमा भाग लिन गाउँ पुगे व्यासबासी

बिज्ञापन

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–१ तिङ्करका वीरेन्द्र तिङ्करी वैशाख २६ गते भारतीय बाटो हुँदै मतदान गर्न तिङ्कर हिंडे । यही वैशाख २७ गते बेलुकी ७ बजेदेखि सीमा नाका बन्द हुने भएपछि तिङ्करी भारतीय बाटो हुँदै गाउँ पुगेका हुन् । ‘हामी आफ्नै गाउँपालिकाको वडा कार्यालय पुग्न भारतको अनुमति लिएर जानुपर्छ’, स्थानीय दानसिंह तिङ्करीले भने, ‘चुनाव हुने दुई बस्तीका गाउँलेहरूले पनि मतदानका लागि भारतकै अनुमति लिएर पुगेका छन् ।’

बिज्ञापन

तिङ्कर र छाङ्गरुवासी छ महिना मात्र गाउँमा बस्छन् । उच्च हिमपात र जाडो छल्नका निम्ति उनीहरू कात्तिकको अन्त्यतिर गाईवस्तुसहित बेंसी झर्छन् । अनि जेठ पहिलो साता उनीहरु पशुचौपायासहित यस पटक पुनः गाउँमा फर्किएका छन् । हाल ती गाउँमा आलु, कोदो र फापरलगायत बाली लगाउने मौसम हो । चुनावका कारण नियमित बस्नेभन्दा बढी मानिस गाउँतर्फ उक्लिएका छन् ।

सरकारले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री गत शनिबार हेलिकप्टरमार्फत त्यसतर्फ पठाएको थियो । तर सामान्य मानिसको ओहोरदोहोर त निकै कष्टकर भएको छ । स्थानीयवासी नरेन्द्रसिंह बोहराले भने, ‘सानो गाउँ भएको कारण एक दिनमा दुवै गाउँ घुम्न सकिन्छ ।’ छाङ्गरुको कैलाशपति आधारभूत विद्यालय मतदान केन्द्रमा ३७५ र तिङ्करको मोती महिला सङ्घ आधारभूत विद्यालयको केन्द्रमा २३१ मतदाता छन ।

पूर्ववर्ती सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेको थियो । नक्सामा समेटिएको भूगोलभित्र नावी, गुञ्जी र कुटी गाउँ पर्छ । राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा ५०० को हाराहारीमा जनसंख्या रहेको बताइएको छ । तर यस क्षेत्रका नागरिक नेपालको मतदाता नामावलीमा नसमेटिएका कारण यो पटक निर्वाचनमा सहभागी हुने अवस्था नरहेको जिल्ला निर्वाचन अधिकृत प्रदीपसिंह धामीले जानकारी दिए ।

‘हामीले छाङ्गरु र तिङ्करका लागि मतदान अधिकृतसहितको कर्मचारी हेलिकप्टरमार्फत पठाइसकेका छौं’, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने । भारतसँग सीमा जोडिएको छाङ्गरु र चीनको सीमा नजिकको तिङ्कर गाउँमा यो पटक सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिएका छन् । भौगोलिक रुपमा विकट रहेको यो ठाउँमा यो पटक म्यादी खटाइएको छैन ।

बिज्ञापन