राष्ट्रिय समाचार

मतदानको दिन सवारी साधनमा किन लगाइन्छ रोक ?

बिज्ञापन

काठमाडौँ । स्थानीय तहको निर्वाचन बैशाख ३० गते शुक्रबार हुँदैछ ।

बिज्ञापन

शुक्रबारका दिन निर्वाचन नसकिए सम्मका लागि पास लिएका बाहेक सवारी साधन चलाउन पाइने छैन । निर्वाचन आयोगले निर्वाचनका दिन सवारी साधन चलाउन निषेध गराउँदै आएको छ ।

निर्वाचनका दिन तोकिएको निर्वाचन अवधि नसकिँदासम्म आन्तरिक हवाई उडान पनि बन्द हुने गरेको छ ।

सर्वसाधारणले भने सवारी साधन चल्न नदिँदा आम अनावश्यक दुख पाइने गरेको भन्दै गुनासो गर्ने गरेका छन् ।

निर्वाचनको दिन सवारी साधन चलाउन किन नपाइने हो त ? निर्वाचन आयोगका सहप्रवक्ता तथा सूचना अधिकारी सूर्यप्रसाद अर्याल शान्त, व्यवस्थित र भयरहित वातावरणमा मतदान गर्न गराउनका लागि सार्वजनिक तथा निजी यातायातका साधन सञ्चालनमा रोक लगाइएको बताउँछन् ।

निर्वाचन राष्ट्रिय पर्व भएकोले सबै मतदाताले आफ्नो अधिकारको उपयोग गर्न पाउन भन्ने उद्देश्यले पनि सवारी साधन सञ्चालनमा रोक लगाइएको उनले बताए ।

उनले भने, ‘हाम्रा सम्पूर्ण मतदान केन्द्रहरू मतदाताको नजिकै तोकिएको छ । मतदाता सवारी साधन चढेर मतदान केन्द्रसम्म जान पर्ने अवस्था छैन । हिँडेर मतदान गर्न जाँदा सडकमा कुनै अवरोध नआओस् भनेर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।’

सवारी साधनमा सङ्गठित भएर आपराधिक मनसाय भएका व्यक्तिहरू पनि आउन सक्ने, अर्को ठाउँको मतदानस्थलमा गएर धाँधली गर्न सक्ने लगायतका खतराहरू रहने भएकाले विज्ञहरूको सुझावलाई समेत मनन गरेर पनि सवारी साधन सञ्चालनमा रोक लगाइएको उनको दाबी छ ।

‘बुथमा हुने सुरक्षाकर्मी भन्दा बढी र शक्तिशाली समूह आएर मतदान गर्ने कार्यमा बाधा उत्पन्न गर्न सक्ने भएकाले त्यस्ता सम्भावित अप्रिय घटना रोक्नका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको हो’ सहप्रवक्ता अर्यालले थपे ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले शान्ति सुरक्षालाई मध्यनजर गरेर आयोगले गरेको निर्णयलाई कार्यान्वयन गरिएको बताए ।

‘निर्वाचनमा कुनै पनि अप्रिय घटना नहोस् भनेर नेपाल प्रहरी जहिले पनि पूर्ण तयारीमा हुन्छ । निर्वाचन आयोगले सुरक्षा विशेषज्ञहरूको सुझाबअनुसार गरेको निर्णयलाई नेपाल प्रहरीले कार्यान्वयन गर्दै आएको हो’ उनले भने ।

बिज्ञापन