Local Election result

कैलालीमा कुन पार्टी कुन स्थानमा रहेको छ ?

बिज्ञापन

धनगढी । १३ स्थानीय तह रहेको कैलालीको प्रारम्भिक नतिजा अनुसार ५ दलीय गठबन्धन अगाडि देखिएको छ ।

बिज्ञापन

स्थानीय तहको निर्वाचनमा सहभागीमध्ये गठबन्धनले हालसम्म जिल्लाका ४ पालिकाको प्रमुख पदमा अग्रता कायम गरेको छ । जिल्लाको गोदावरी नगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवारले मेयरमा अग्रता कायम गरेका छन् ।

अहिलेसम्म कांग्रेसका बिरेन्द्र भट्टले ६४५ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका गोकर्ण भट्टले ६२६ मत पाएका छन्। ​

घोडाघोडी नगरपालिकामा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका खडकबहादुर रावले १८८ मत पाएका छन् । त्यहाँ एमालेका ममताप्रसाद चौधरीले १२५ मत प्राप्त गरेका छन् ।

उता गौरीगंगामा नगरपालिकामा गठबन्धनका माओवादी तर्फबाट मेयरका उम्मेदवार बनेका देवीदत्त कँडेलले ५९ मत पाएका छन् । उनलाई एमालेका पदमसिंह सिङालल ३० मतका साथ पछ्याइरहेका छन् ।

यस्तै चुरेमा गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवार लोकबहादुर सारु र जानकी गाउँपालिकामा गठबन्धनका उम्मेदवार कांग्रेसका परशुराम महतोले अग्रता कायम गरेका छन्। यता धनगढी उपमहानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन् ।

धनगढीमा १ सय ५३ मतगणना हुँदा हमालले ७७ मत पाएका छन् । यस्तै सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३५, नेकपा एमालेका रणबहादुर चन्दले ५ मत पाएका छन् ।

टीकापुरमा नगरपालिकामा भने नागरिक उन्मुक्ति पार्टी अगाडि आएको छ । नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका रामलाल डगौरा थारुले १३७ मत प्राप्त गरेका छन् । उनलाई एमालेका श्याम खत्रीले ६७ मतका साथ पछ्याइरहेका छन् ।

कैलारी गाउँपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता कायम राखेको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार राप्रपाका होमबहादुर गुरुङले २७० मत प्राप्त गरेका छन् । यस्तै उनका प्रतिद्वन्द्वी कांग्रेसका रामसमज चौधरीले २४१ मत पाएका छन् ।

भजनी नगरपालिकामा भने एमाले अगाडि छ । जिल्लाको लम्कीचुहा नगरपालिका र जोशीपुर गाउँपालिकामा भर्खरै मतगणना सुरु भएको छ । दुर्गममा रहेको मोहन्याल गाउँपालिकामा भने अहिले पनि मतपेटिका संकलन कार्य भइरहेको छ ।

बिज्ञापन