Local Election result

धरान उपमहानगरमा पनि लौरोको चमत्कार, मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

बिज्ञापन

धरान । न कुनै संगठन, न अघिपछि लाग्ने कार्यकर्ताहरूको भीड, एउटा अटोमा माइक राखेर एक्लै जनताको मुद्दा उठाउँदै हिँड्ने र एक्लै भोट माग्ने हर्क साम्पाङ राई धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएका छन् ।

बिज्ञापन

राईले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गरे । हर्कराजले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत पाए । नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरिन् ।

धरानको उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५ सय १० मत प्राप्त गरे । उनका निकटतम प्रत्याशी नेकपा एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत पाए ।

सीमित व्यक्तिहरूको सहयोगमा एकदमै सामान्य चुनावी अभियान चलाएर जनताको घरदैलोमा पुगेका साम्पाङलाई जनताले धरानको नेतृत्व सुम्पिएका छन् ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेमाथि भारी परेका साम्पाङ सामाजिक अभियन्ता हुन् । १० वर्षदेखि उनले धरानमा जनसरोकारका मुद्दा उठाइरहेका छन् ।
खानेपानीदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जलाधार संरक्षणको विषयमा समेत उनले कुरा उठाउने गरेका थिए । विकृतिविरुद्ध चर्काे विरोध गर्ने साम्पाङ प्रस्ट वक्ताका रूपमा चिनिन्छ ।

समस्या पर्दा जनप्रतिनिधिको घरमा पुग्नुभन्दा अगाडि धराने जनता उनै साम्पाङकोमा पुग्ने गरेका थिए । उनले सम्बन्धित निकायलाई जानकारी गराएर तुरुन्तै समस्या समाधान गर्ने र समस्या समाधान नभए जनताकै घरदैलोमा गएर काम नगर्ने निकायहरूको गतिविधि छताछुल्ल पार्ने गरेको त्यहाँका जनता बताउँछन् ।

साम्पाङ वैदेशिक रोजगारीका लागि अफगानिस्तान गएका थिए । विदेशबाट फर्किएपछि राष्ट्रिय एकता सञ्जाल नामको संस्था खोलेर उनले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरे । उनले टेम्पो एकता संघ समेत खोलेका थिए । उनी आफैँ पनि टेम्पो व्यवसायी हुन् । उनी एक्लै माइक बोकेर सडकका चोकहरू तथा गल्लीगल्लीमा पुगेर भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाउँथे ।

एमालेको गढ मानिएको धरानमा गत उपनिर्वाचनमा कांग्रेसका तिलक राईले जितेका थिए । निवर्तमान मेयर राई खानेपानी उपभोक्ता समितिमा रहेर लामो समयसम्म काम गरेका व्यक्ति हुन् ।
एसियाली विकास बैंक (एडीबी) को लगानीमा एकीकृत शहरी विकास आयोजनाको सहकार्यमा २ अर्ब १७ करोड बराबरको लगानीमा नेपाल सरकार र धरान उपमहानगरपालिका बीच ८ मे २०१२ मा आपसी सम्झौता गरी सन् २०१७ मा सम्पन्न गर्ने गरी योजना अगाडि बढाइएको थियो । त्यो कार्यक्रम सफल हुन सकेन ।

साम्पाङले धरान बजारको चोकचोकमा गएर यो योजना सफल नहुने भन्दै भाषण गर्ने गरेका थिए । सप्तकोशीको पानी ल्याए मात्रै धराने जनतालाई खानेपानी दिन सकिने उनको मान्यता छ ।

एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको निधन भएपछि २०७६ मा उपनिर्वाचन भएको थियो । त्यसबेला साम्पाङले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

धरानमा पानीको मुद्दा उठाउने साम्पाङले चुनाव चिह्न पानीको बोत्तल लिएका थिए । बोत्तलको पानीले उनलाई साथ दिएन । उनले ५ सय ४० मत मात्रै प्राप्त गरेका थिए । चुनाव हारे पनि उनले जनसरोकारका मुद्दा उठाउन छाडेनन् ।

उनी खानेपानी समस्यालाई प्रमुख मुद्दा बनाएर धरान उपमहानगरपालिकाको कार्यालयअगाडि प्रदर्शन गर्थे । खानेपानीको समस्या कहिले समाधान गर्छाैं भनेर चर्काे स्वरमा जनप्रतिनिधिहरूलाई प्रश्न गर्थे ।

भ्रष्टाचार किन बढ्यो ? जनताले पेटभरि पानी खान किन पाएनन् ? भनेर प्रश्न गर्दा धरानलाई अशान्त बनाएको आरोप लगाई उनलाई धेरैपटक प्रहरीले नियन्त्रणमा लिएको तथा भाषण गरिरहेको ठाउँबाट हटाउने गरेको त्यहाँका न.जनता बताउँछन् ।

धारामा पानी नआउँदा मात्रै होइन बाटो बिग्रँदा पनि उनैलाई खबर आउने गरेको थियो । समस्या समाधानका लागि सम्बन्धित निकायलाई तत्काल फोन गर्ने र काम नगरे सामाजिक सञ्जाल फेसबूकबाट लाइभ गरी त्यसको भण्डाफोर गर्ने गरेका थिए । त्यति गर्दा पनि नभए माइक बोकेर सम्बन्धित कार्यालयअगाडि पुगी भाषण गर्थे ।

निवर्तमान मेयर राई पटक–पटक विवादमा तानिए । कार्यकालको शुरूआतदेखि नै उनी विवादमा तानिएका हुन् । विष्णु पादुकामा रूख कटानदेखि विवादमा तानिएका राई मेयर बन्नुभन्दा अघि खानेपानी संस्थानलाई बोर्डमा गाभ्नुहुँदैन भन्ने पक्षमा आन्दोलित थिए, तर मेयर बनेपछि उनकै सक्रियतामा संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा गाभियो । पानीको समस्या समाधान हुनुको साटो झनै बढ्यो । यही प्रकरणले उनी र उनको पाटीमाथिको जनसमर्थन तीन वर्ष पनि टिक्न सकेन ।

कम्युनिस्ट र कांग्रेसबाट जितेको जनप्रतिनिधिहरूबाट धराने जनताले सोचेका विकास नपाएपछि नयाँ अनुहार हेरेका हुन् ।

लौरो चिह्न बोकेर चुनावमा होमिएका हर्क साम्पाङलाई जनताले धरानको नेतृत्व सम्हाल्ने ठाउँमा पु¥याएका छन् ।

बिज्ञापन