आस्था /आध्यात्म

सत्संग गर्नुको मुख्य आवश्यकता भनेको नै सत्यसंग जोड्नु हो– नर बहादुर रावल (अध्यक्ष–स.नि.म. नेपाल)

बिज्ञापन

धनगढी, ०७ जेठ । सत्संग गर्नुको मुख्य आवश्यकता भनेको नै सत्यसंग जोड्नु हो भनेर सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले बताउनु भएको छ । धनगढीको सत्संग भवनमा शनिबार आयोजित सप्ताहिक सत्संगमा उहाँले उक्त कुरा बताउनु भएको हो ।

बिज्ञापन

उहाँले भन्नुभयो– ‘आज बिग्रे–भत्केका, कुलत, कुसंगत, कुमती जस्ता अनेकौ प्रकारका दुव्र्यशनमा फसेका जतिपनि मानव प्राणी छन् उनीहरुलाई सुधारर्ने केवल एउटै बाटो सत्संग हो । त्यसैले भनिएको छ सत्संग मेरो माता, पिता मेरो राम । सत्संगमा जोपनि आउँछ उसको जीवनमा निखार आउने गर्छ, उसको जीवन पवित्रमय बन्न जान्छ, उसमा भएको दुर्गुण–अवगुण सबै समाप्त भएर ऊ सत्गुरुतिर अग्रसर हुन जान्छ । त्यसले सत्संग गर्नुको मुख्य आवश्यकता भनेको नै सत्यसंग जोड्नु हो । यदि हामी नित्य रुपमा सत्संग गर्छौ भने हामीमा भएका विकार कुराहरु समाप्त भएर जान्छन् । मनमा भएका वितृष्णाहरु समाप्त भएर जान्छन्, त्यसपछि हाम्रो ह्दयमा हरपल यस निराकार–परमात्माको याद आइरहन्छ । ठुला–ठुला प्रकृतिहरु परिवर्तित छन्, अहिले छन् पछि छैन, यी प्रलय भएर जाने प्रकृति हुन । त्यस्तै जतिपनि पिण्ड छन् तीपनि समाप्त भएर जाने छन् । स्थीर एउटै मात्र परमात्मा छ जो कहिल्यै नमर्ने, कहिल्यै नजन्मिने जो सबै ठाउँमा प्रकट भएको निराकार छ । यसै निराकारसंग मनको नाता जोड्यौं भनेपछि सदा परमात्मामय बन्न जान्छौ । जिउँदै यस आत्माले परमात्मालाई प्राप्त गर्न सक्छ । आत्मा, परमात्माको अंश हो, जसलाई जस्तो किसिमले चार्ज गरयौं, त्यस्तै बन्न सक्छ । हामी अनेकौं प्रकारका बिकारमा, मनमतिमा हिड्यौं, कुसंगतीतिर लाग्यौं, निन्दा–नफरत, घृणातिर लाग्यौंभने हाम्रो जीवनमा निखार आउँदैन, पवित्रता पनि आउँदैन, हाम्रो कुनै गति हुन सक्दैन, हामी अधोगतितिर जान सक्छौ, त्यसैले आज सत्संग रुपी माताको कृपाबाट पिता रुपी परमात्मालाई जानेर यसको भक्ति गरिरहेका छौ । त्यसैले भक्ति सम्भव छ तर यसको लागि साधना र त्यागको आवश्यकता रहेको छ । त्याग भनेको मनका अनेकौ बिकारहरुलाई हटाएर परमात्मासंग जोड्नु हो । यो तन, मन, धन सबै परमात्माको नै सम्झिनु पर्दछ ।’

उहाँले अगाडि भन्नुभयो– ‘भगवान रामको आज हामी हरपल नाम लिरहेका हुन्छौ, जसको राज्य अभिशेक भोलि हुँदैछ भन्ने समाचार अयोद्धाभरि फैलियो तर एकरातमा यस्तो योजनाभयोकि भोलि बिहानै बनवास जानुपर्ने आदेश आयो । त्यो आदेश आउँदा आफूसंग भएका सबै आभूषण खोलेर एउटा साधु रुपमा राम, सीता र लक्ष्मण धनुषबाणलाई आफ्नो काँधमा राखेर बनवासतिर लागे । साँझ हिड्दा–हिड्दै एउटा ऋषिको कुटीमा पुगे । ऋषिले राजपाट त्यागेर आएका राजकुमारको स्वागत गरे । उनले घास र कुशको घर बनाएर उनीहरुको बस्ने ठाउँ बनाउनुभयो । ऋषिले रामसंग भने आज हजूरको राज्यअभिशेक हुने दिन थियो तर हजूर त बनवास आउनु पर्ने अवस्था आयो । माता कैकेईले बार–बार राम्रो पुत्र भनेर रामलाई भन्ने गर्थिन त्यो एउटा देखावटी मात्र रहेछ । ऋषिले कैकेईले सौतेलो व्यवहार देखायो भनेर यो शब्द राख्दा, तब रामले भन्नुभयो– ‘दाता को छ यो सुख–दुःखको फल मिल्छ सब कर्मको’ । यसरी हामी जेजति गरिरहेका छौ यो सारा परमात्मा–ईश्वरको लिला हो, कर्मगतिको फल हामी सबैले भोग्नै पर्छ । हामीले कर्ता भाव यदि लियौं भने त्यो एउटा उपयुक्त होइन किनभने कर्ता परमात्मा हो हामी होइनौं, हामी एउटा माध्यम हौं । जुन अपेक्षा माता कैकेईलाई लाग्यो त्यो एउटा कारण मात्रै हो, माता कैकेईको कारणले हामी बन जान लागि रहेका छैनौ त्यो हाम्रो कर्म–गतिको फल हामीले भोग्नै पर्ने थियो, त्यो भोगि रहेका छौ । यसरी हामीले धैर्य–धारण गर्न सक्नु सबैभन्दा उत्तम कार्य हो । जब हामी आवेशमा आउँछौ कुनैपनि कुरा हतारमा गर्न खोज्छौ, पछि त्यसको प्रतिफल राम्रो हुँदैन । धैर्य–धारण गरेपछि त्यसको फल मिठो हुन्छ भनेर पहिलेका मान्छेहरुले भन्ने गर्थे । सत्गुरुले पनि हामीलाई प्रेम, नम्रता, सहनशीलता, धैर्यरताको मिशन दिनुभएको छ । वास्तवमा राम जब बनवासी भए तब धेरैको उद्धार भएको हामीले रामायणमा पढेका छौ । जो हरेक बन्धनमा परेका थिए, श्राप लागेर ढुंगा भएकी अहिल्या पनि एउटा नारी रुपमा आइन, रावण जस्तो अभिमानीको पनि बिनास भयो, त्यस्तै जंङ्गली जनावर पशु–पंक्षीहरुको पनि उद्धार भयो । जब–जब धर्मको गलानि र पापको वृद्धि यस धर्तीमा हुन्छ तब–तब यस निराकार–परमात्माले साकार रुपमा प्रकट भएर संसारको उद्धार गर्ने गर्छ । पापको बिनास, धर्मको रक्षा गर्नको लागि परमात्माले सत्गुरुलाई यस धर्तीमा साकार रुप दिएर पठाउने गर्दछ । आज सत्गुरु माता सुदीक्षा जी महाराज मानव मात्रको लागि रातोदिन एक गरिरहनु भएको छ ।’

निरंकारी मिशनको शुरुवात सन् १९२९ पाकिस्तानको पेशावरमा बाबा बुटा सिंह जीबाट भयो तत् पश्चात बाबा अवतार सिंह जी महाराज, बाबा गुरबचन सिंह जी महाराज, बाबा हरदेव सिंह जी महाराज, सत्गुरु माता सबिन्दर हरदेव जी महाराज र आज वर्तमान सुदीक्षा जी महाराज आउनुभएको छ । युग–युगको यो अवतार शरीर परिवर्तन हुन्छ तर यो ईश्वर–निराकार, यो ज्ञान परिवर्तन हुँदैन । त्यसैले आज हामी धेरै भाग्यशाली छौ, हामीले यस्तो सुवर्ण अवसर प्राप्त गरेका छौ । यसो हेर्दा संसारमा चारैतिर अशान्ति छ, कतैपनि शान्ति छैन । यस्तो अवस्थामा सत्गुरुले सबैको भलाई हुने कार्य संसारमा गर्दै आउनुभएको छ, उहाँले बताउनुभयो ।

उहाँले यसमाथि अझ प्रष्ट पार्दै भन्नुभयोकि ईश्वरले मानवलाई उत्तम योनि दिएर पठाउनुको मुख्य कारण यहि थियोकि यसले संसारको भलाई गरोस, यसको रेखदेख गरोस तर यसै मानवबाट आज बिभिन्न किसिमका अमानविय विध्वांसकारी कार्य भइरहेका छन् । तर अन्य जो चौरासी लाख योनिका अरु प्राणीहरु भने आ–आफ्नो कार्य गरिरहेका छन् । मानवले मात्र मानवले गर्ने कार्य छोडेर दानवताको प्रवृत्तिलाई अंगालेको छ । सत्गुरु बाबा हरदेव सिंह जी महाराजले पनि बारबार दोहरयाउनुभयो कि केहिपनि बन बढाई छ तर पहिले मानव बन । यदिमा हामीमा मानवियता छैनभने केहिपनि बनेको कुनै फाईदा हुँदैन । त्यसैले सबभन्दा पहिले हामीले मानव बन्न सक्नुपर्छ ।

धनगढीमा साप्ताहिक रुपमा आयोजित सत्संग कार्यक्रमा सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्ले, गायक तेज बहादुर बोहरा, इन्द्र सिंह, जय बहादुर साउँद, धनगढी सत्संग भवनका मुखी प्रकाश साउँद, विजय, अर्जुन, बज्जीर सिंह, कृष्णराज, लाल बहादुर, रोशन, रतन, विजय, गोरख, दिल बहादुर, सिद्धार्थ, सरस्वती, सीमा, कल्पना, निर्मला, पूजा, आरती आदिले गीत–तथा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव प्रकट गरेका थिए भने सत्संगको कार्यक्रमको संचालन कविराज रेग्मीले गर्नुभएको थियो ।

बिज्ञापन