राजनीति

राप्रपा अध्यक्ष लिङ्देनविरूद्ध विद्राेहकाे तयारी

बिज्ञापन

काठमाडौं । पूर्व पञ्च, हिन्दु राष्ट्र र राजावादीहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली र अभिव्यक्तिलाई लिएर व्यापक असन्तुष्टि बढेको छ । राप्रपाका नेताहरूले राजिनामा दिएर पार्टी छाडन थालेका छन। स्थानीय तहको निर्वाचनमा सोचेजस्तो नतिजा नआएपछि केन्द्रीय नेता र आम कार्यकर्तामा निरासा छाएको छ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेसँगै सामान्य क्षति पुगेको राप्रपामा पुनः अर्को समूहले पनि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विद्रोहको तयारी गरेको खबर छ ।

बिज्ञापन


  हिजो लिङ्देनलाई जिताएर राप्रपामा परिवर्तन र सुधार खोजेका नेताहरूनै आज अध्यक्ष  लिङ्देनले पार्टीलाई गति दिनेभन्दा पनि अनिर्णयको बन्दी बनाएको आरोप असन्तुष्ट समूहले लगाएको छ । नेतृत्वको कार्यशैलीलाई लिएर राप्रपाका शक्तिशाली उपाध्यक्ष विक्रम बहादुर पाण्डे, कमल थापा निकट महामन्त्री कुन्ती कुमारी शाहीसहितका केन्द्रीय सदस्यहरू दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना, रामकुमार सुब्बा, दमन बस्नेत, राजाराम श्रेष्ठ, केशव श्रेष्ठ, भरत पाठक लगायतका नेताहरू अब  कसरी अघि बढ्ने भनेर निरन्तर छलफलमा जुट्दै आएका छन् ।


केन्द्रीय सदस्य दमन बस्नेतले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खेलकुद विभागको प्रमुखबाट राजीनामा दिएका छन । वैकल्पिक राष्ट्रवादी शक्ति निर्माणका लागि उनले गत महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गरेको भएपनि अपेक्षाअनुरूप पार्टी अघि बढाउन नसकेपछि बस्नेतले राजीनामा दिएका हुन । 

नयाँ नेतृत्वमा विश्वास भए पनि जन्मिँदै निरंकुश जस्तो भयो र सबैको स्वीकार्य हुने नेतृत्व बन्न सकेन । कमल थापादेखि सबै अटाउने राप्रपा बन्नु पथ्र्यो तर त्यस्तो बन्न सकेन । महाधिवेशन भएको ७ महिना बिति सक्दा पनि सबैलाई समेटेर गतिशिल राप्रपा बनाउन नसकेको आरोप बस्नेतले लगाउदै आएका छन ।


लिङ्देनको कार्यशैली र नेतृत्वप्रति असन्तुष्ट रहेका दिलनाथ गिरीसहितका नेताहरूले केही दिनअघि पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायतलाई भेटेर आफ्ना असन्तुष्टि राखेका थिए। सो भेटमा उनीहरूले अध्यक्ष लिङ्देनले सबैलाई समेट्न नसकेको गुनासो पोखेका थिए ।


  काभ्रे लगायतका जिल्लाको सार्वजनिक कार्यक्रममा अध्यक्ष लिङदेनले आफूहरूको अपमान गर्ने गरी अभिव्यक्ति दिएको भन्दै उनीहरूले पार्टीमा बस्न नसक्ने अवस्था सिर्जना भएको बताएका थिए । पुराना नेताहरूको मानमर्दन हुने गरी र उनीहरू पार्टीमा नभए पनि केही फरक नपर्ने भन्ने आसयको अभिव्यक्ति दिएको गुनासो असन्तुष्टहरूले डा. लोहनी समक्ष राखेका थिए ।

डा.लोहनीले भने असन्तुष्टहरूलाई थामथुम पार्दै वरिष्ठ नेता पशुपतिशमशेर जबरा दिल्लीबाट फर्किएपछि यस विषयमा गम्भीर  छलफल गरि समस्या समाधान गर्न आफूले पहल गर्ने भन्दै तत्काल कुनै निर्णय नलिन आग्रह गरेका थिए ।


पटक–पटक विभाजन, टुटफुट र एकता हुँदै आएको राप्रपामा राजेन्द्र लिङ्देन नेतृत्वमा आएसँगै पार्टीले गति लिने,जनसमर्थन बढाउने,युवाहरूलाई आकर्षित गर्ने र संगठनमा सुधार हुने अपेक्षा आम कार्यकर्ताले गरेका थिए तर, अपेक्षाअनुसार पार्टी अघि बढ्न नसकेको असन्तुष्टहरूको विश्लेषण रहेको छ ।


गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा पनि खासै उत्साहजनक आएन,संगठनात्मक  सुधार पनि भएन भन्ने असन्तुष्टहरूको गुनासो छ। २०७४ सालमा पनि स्थानीय तह निर्वाचनपछि पशुपति शमशेर राणाले राप्रपा फुटाएका थिए । अहिले राणा मौन छन् तर असन्तुष्टहरूको नजर राणातिर  छ । हाल दिल्लीमा रहेका राणा एक सातापछि नेपाल फर्किने र त्यसपछि उनीसँग छलफल गरेर आगामी यात्रा तय गर्ने असन्तुष्ट दिलनाथ गिरीले जानकारी दिएका छन ।

असन्तुष्टहरू अहिले आन्तरिक छलफलमा छन, लिङ्देनको नेतृत्वमा पार्टी चल्न र बन्न सक्दैन भन्ने उनीहरूको ठहर छ । अब कसरी अघि बढ्ने नाति जर्नेल राजा दिल्लीबाट फर्किएपछि छलफल हुने एक असन्तुष्ट नेताले बताए । पार्टीलाई गति दिनका लागि असन्तुष्टहरूले अध्यक्षलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सफल हुन  सकेका छैनन। उनीहरूको स्पष्ट धारणा छ की नेतृत्व नसच्चिए पार्टीमा थप क्षति हुनेछ।

आगामी चुनावमा प्रत्यक्षमा जित्न नसके समानुपातिक पनि गुम्छ । लिङ्देनले अरू पार्टीका नेतालाई चोर आयो भनेर होच्याएकाकाले प्रचण्ड, केपी शर्मा ओली, शेर बहादुर देउवासँग भेटेर चुनावी गठबन्धन गर्ने कुरा राख्न अध्यक्ष लिङ्देनलाई गाह्रो भएको छ। अध्यक्ष लिङ्देनको कच्चा कार्यशैली र अभिव्यक्तिले राप्रपासँग गठबन्धन गर्न कुनै राजनीतिक दल तयार देखिएका छैनन ।  

बिज्ञापन