राजनीति

डोटीमा एमालेबाट मल्ल, गठबन्धनमा अझै अलमल्ल

बिज्ञापन

कैलाली । प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटीबाट एमालेले जिल्ला अध्यक्ष चक्र मल्ललाई सिफारिस गरेको छ । मल्लको नाम सर्वसम्मतरूपमा सिफारिस गरिएको हो ।

बिज्ञापन

मल्ल अघिल्लो पटक प्रदेशसभामा कांग्रेसका उम्मेदवार भरतबहादुर खड्कासँग थोरै मतान्तरले हारेका थिए । कांग्रेसले अहिले पनि खड्कालाई प्रतिनिधिसभामा सिफारिस गरेको छ ।

एमालेले डोटीमा समानुपातिकतर्फ पोलिटब्युरो सदस्य एवं डोटी इन्चार्ज गौरी ओली, प्रदेशसभा ’क’ मा प्रत्यक्षतर्फ लक्ष्मण खड्का र ’ख’ बाट पदमराज भट्ट, रामबहादुर ऐर, टेक बम, भोजनाथ योगी, यज्ञराज जोशी र राधिका टमटालाई सिफारिस गरेको छ ।

गठबन्धनका समस्या

यहाँ अहिले गठबन्धनमा रहेका कांग्रेस, माओवादी र नेकपा एस तीन दलले दाबी गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट माओवादी केन्द्रबाट, पूर्वमन्त्री प्रेम आले नेकपा एस र पूर्वमन्त्री तथा कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर कांग्रेसबाट टिकटको दौडधुपमा छन् । तर, केन्द्रको कार्यदलमा सीट बाँडफाँट टुंगिनसकेकाले कसले पाउने अहिलेसम्म अन्योल छ ।

माओवादी र नेकपा एसबाट भट्ट र आले सर्वसम्मत जस्तै भएपनि कांग्रेसबाट बलायरसहित प्रदेशसभा सदस्य भरत बहादुर, यज्ञराज पाठक, गोरख विष्ट (आनन्द) र धिरेन्द्र शाहीको दाबी छ ।

नेकपा एस र कांग्रेसले उम्मेदवारको सिफारिस गरिसकेको छ भने माओवादी केन्द्रले केही दिन भित्र सिफारिस गर्ने जनाएको छ ।

‘मुख्यमन्त्री त्रिलोचन भट्ट संघमा उठ्ने तयारीमा हुनुहुन्छ’ माओवादीका एक नेताले भने ‘मुख्यमन्त्री भइसक्नु भएको व्यक्तिले संघ रोज्दा यहाँ हामीलाई भाग पर्ने सम्भावना छ ।’

माओवादीले आफूहरूले पाउने दाबी गरिरहेका बेला नेकपा एसले प्रेम आलेको लागि पनि सशक्त लबिङ गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन केही सांसद थप्न आलेको भूमिका रहेको भन्दै यहाँ आलेकै लागि छुट्टयाउने प्रयास भइरहेको कांग्रेसवृत्तमा चर्चा छ ।

नेपाली कांग्रेसले भर्खरै मात्र जिल्लामा कसैसँग तालमेल नगर्ने निर्णय गरेपछि यहाँ गठबन्धन दलबीच तिक्तता बढेको छ । गत बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले कांग्रेस एक्लै चुनाव लड्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभामा सिफारिस भएका भरत खड्का जिल्लाले सर्वसम्मतरूपमा तालमेल नगर्ने निर्णय गरेको भन्दै केन्द्रले त्यसलाई लत्याउन नसक्ने जिकिर गर्छन् । जिल्लाको आवाजभन्दा बाहिर गएर केन्द्रले निर्णय लाद्ने प्रयास गरे विद्रोह हुने संकेत आफूले पाएको उनको भनाइ छ ।

‘यहाँ हाम्रा सबै नेता कार्यकर्ता कांग्रेस एक्लै लड्नु पर्छ भनिरहेका छन्’ उनले नेपाल प्रेससँग भने ‘त्यो भावनाविपरीत गएर केन्द्रले निर्णय गरे विकल्प खोज्ने कुरा आइरहेको छ । ’

को कति बलियो ?

अघिल्लो संसदीय निर्वाचनमा भिडेका पाँचजना अहिले पनि उम्मेदवारका आकांक्षी छन् । प्रदेशसभामा भिडेका तीन र प्रतिनिधिसभामा भिडेका दुईजनाकै रोजाइ अहिले प्रतिनिधिसभा बनेको छ ।

कांग्रेसका उम्मेदवार भरत खड्कासँग झिनो मतले पराजित भएका मल्ल एमालेबाट र खड्का कांग्रेसबाट आकांक्षी छन् । मल्ल उम्मेदवार बन्ने निश्चित भइसक्दा पनि खड्काको पार्टी भित्रै बाट र गठबन्धनबाट अनिश्चित छ ।

नेपाली कांग्रेसका योगेन्द्रबहादुर शाहीलाई २ हजार ५९२ मतले हराएर मुख्यमन्त्री भएका त्रिलोचन भट्टले पनि संघीय निर्वाचन क्षेत्र ताकेका छन् ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसका वीरबहादुर बलायरलाई प्रेम आलेले १ हजार ६३२ मत अन्तरले पराजित गरेका थिए । ७४ मा बलायर हराएका आले २०७० सालमा डोटी- २ बाट सांसद बनेका थिए । त्यो बेला बलायर डोटी- १ बाट विजयी भएका थिए ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मतमा यो क्षेत्र नेपाली कांग्रेस निकै अगाडि छ । कांग्रेस ३४ हजार ४७ मत पाउँदा एमाले २४ हजार ९१६ पाएको छ । त्यसैले माओवादीले ७ हजार ७८९, नेकपा एकीकृत समाजवादीले ३ हजार २०५र राप्रपाले ९८७ मत पाएको छ ।

बिज्ञापन