राजनीति

कांग्रेसमा मन्त्री फेर्न तीव्र दबाब, देउवा अनिच्छुक

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको चर्को आलोचना भएको छ । प्रधानमन्त्री प्रचण्डको मात्रै नभइ पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कामप्रति पनि नेताहरुले प्रश्न उठाएका छन् ।

बिज्ञापन

कांग्रेसबाट सरकारको नेतृत्व गरेर उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का गएका छन् । उनीहरुले बैठकमा आफूहरुले गरेको कामको रिपोर्ट कार्ड बुझाए । तर, उनीहरुको कामप्रति सभापति शेरबहादुर देउवासहित अन्य नेताहरुले पनि सन्तोष जनाएनन् ।

यद्यपि, उपप्रधानमन्त्री खड्काले मन्त्रीहरुको काम सन्तोषजनक रहेको ब्रिफिङ गरे । तर, सरकारको कामलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न सकिने उनको भनाइ छ ।

बैठकमा आफ्नो धारणा राख्ने क्रममा महामन्त्री गगन थापाले सरकारमा कांग्रेस सहभागी भएको ८ महिनामा मन्त्रीहरुले गरेका ८ वटा काम मागे ।

उनले भने, ‘सरकारमा कांग्रेस सहभागी भएको ८ महिना भयो, कांग्रेसका प्रत्येक मन्त्रीले ८ महिनामा गरेको यस्तो ८ वटा कामको सूची दिनुस्, जसको कारणले नागरिकको जीवनमा सकारात्मक परिवर्तन आयो र ती काम तपाईं नभएको भए हुँदैन थियो । अनि तपाईंको ती कामको प्रचार कांग्रेसका तमाम सदस्यले गर्नेछन् ।’

महामन्त्री थापाले अब एक वर्षमा सरकारमा बसेर के गर्ने भन्ने लक्ष्य निर्धारण गर्नुपर्ने बताए ।

उनले भने, ‘त्यो लक्ष्य पूरा गर्न भने जस्तो काम गरेनन् भने मन्त्री फेरौं । अरु सबै दलसँग समय पनि छ, सुविधा पनि छ अहिले भएन, हामी आउँछौं र ठीक बनाउँछौं भन्ने । तर, हामीले त्यो भन्न पाउँदैनौं ।’

त्यसो त महामन्त्री थापा प्रधानमन्त्रीको कामप्रति पनि सन्तुष्ट छैनन् । उनले प्रचण्डलाई बालुवाटारबाट खुमलटार पठाउन सक्ने क्षमता पनि कांग्रेससँग भएको भन्दै चेतावनी दिँदै आएका छन् ।

महामन्त्री थापा मात्रै नभएर इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालासहित अधिकांश नेताहरु प्रचण्ड सरकार ढाल्नुपर्ने पक्षमा छन् ।

कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सरकारमा गएर कांग्रेसका मन्त्रीहरुले परिणाम दिनेगरी काम गर्न नसकेको भन्दै आलोचना गरे । उनले पार्टीको अभियान लिएर जनताकहाँ जाँदा कांग्रेसले गरेको काम बताउन सक्ने अवस्था नभएको बताए ।

नेता पौडेलले भने, ‘कांग्रेस यही गतिले अगाडि बढ्ने हो भने २०८४ को निर्वाचनमा पत्तासाफ हुनसक्छ । देशलाई कता लैजाने भन्ने ठोस योजना र रणनीति नल्याएसम्म मैले पार्टी नेतृत्वलाई डिफेन्स गर्न सक्ने अवस्था छैन ।’

भ्रष्टाचारबाट जनता आजित भइसकेकाले पछिल्लो समय बढेको निराशा सम्बोधन गर्न नसकेको उनको बुझाइ छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्री फेरेर भए पनि अब सरकारको गति बढाउँछु भनेर गठबन्धन दलमा छलफल गरेको भए पनि देउवा तयार नभएको बताइन्छ । देउवाले माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुनमा गर्ने भनिएको महासमिति बैठकपछि मात्रै मन्त्री फेर्न सकिने प्रचण्डलाई जवाफ दिएको नेताहरुको बुझाइ छ ।

तर, कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा प्रधानमन्त्रीले मन्त्री फेर्न चाहे कांग्रेस बाधक नबन्ने बताउँदै आएका छन् । यो गठबन्धनको सरकार भएकाले दलहरुबीच आपसी छलफल गरेर प्रधानमन्त्रीले मन्त्री फेर्न सक्ने उनको भनाइ छ ।

उनले भने, ‘मन्त्रीहरुको आफ्नो मन्त्रालयबाहेक अन्य जिम्मेवारी हुँदैन । त्यसकारण सरकार सफल हुँदा वा नहुँदा त्यसको जस अपजस प्रधानमन्त्रीले लिनुपर्छ । त्यो प्रधानमन्त्रीय प्रणालीको विशेषता भएकाले अहिले प्रधानमन्त्रीले के चाहनुभएको छ ? उहाँलाई कुन मन्त्रालयमा काम गर्न अप्ठेरो परेको छ । सम्बन्धित दलसँग सहमति गरी उहाँले फेरबदल गर्नसक्नुहुन्छ ।’

प्रधानमन्त्रीसहित सरकारलाई सहयोग गर्नु मन्त्रीहरुकै कर्तव्य भएको उनको भनाइ छ।

‘गठबन्धनबाट बनेको प्रधानमन्त्री भएकाले एक पार्टीले परेको बेलामा बेवास्ता गर्‍यौं भने भोलि हामीले नेतृत्व गरेको बेलामा त्यो समस्या हुनसक्छ । हामी प्रधानमन्त्रीसँग संवाद र सहकार्य गरेर अघि बढ्छौं’, नेता विश्वकर्माले भने ।

उनले गठबन्धनमा भएको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुने प्रस्ट पारे । त्यसो त कांग्रेसभित्र मात्रै नभइ प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै मन्त्रीहरु हेरफेर गर्नसक्ने बताएका थिए ।

बिज्ञापन