राजनीति

स्वतन्त्र भनेर आउनेहरू स्वतन्त्र होइनन् : प्रचण्ड

बिज्ञापन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्रको नाममा राजनीति गर्न आउनेहरू स्वतन्त्र नभएको दाबी गरेका छन् । पछिल्लो समय स्वतन्त्रका नाममा राजनीतिमा प्रवेश बढिरहेका बेला उनले कोही पनि स्वतन्त्र हुनै नसक्ने दाबी गरेका हुन् । 

बिज्ञापन

बिहीवार ललितपुरमा आयोजित ‘नेपालमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद’मा बोल्दै प्रचण्डले स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्तिहरू विभिन्न नाममा देशलाई पछि लैजाने तत्वहरू भएको दाबी गरे । उनले भने, ‘व्यक्तिगत, स्वतन्त्र भन्छन्, स्वतन्त्र अहिले कोही हुँदैन ।’ उनले स्वतन्त्रको नाममा राजनीतिमा प्रवेश गर्नेहरू विभिन्न राजनीतिक स्वार्थ पूरा गर्न लालायित रहेको आरोप लगाए । 

अध्यक्ष प्रचण्डले नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट अझै एक ठाउँमा हुन आवश्यक रहेको बताएका छन् । ‘वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट अझै एक ठाउँमा हुनैपर्छ । त्यो मिसन हाम्रो हो’ उनले भने, ‘हामीले वैज्ञानिक वहसको नेतृत्व र आन्दोलन गर्न सकेनौँ भने पछि फर्किने तत्व एवं प्रवृत्ति आउँछन् ।’ 

उनले जनताको अधिकार खोस्ने र सीमित वर्गको हातमा अधिकार केन्द्रित गर्ने तत्वलाई परास्त गर्न आईटी, इन्जिनियरहरू तथा वैज्ञानिकहरूले नयाँ यात्रा शुरू गर्नुपर्ने बताए । उनले नेपालमा विज्ञानको प्रयोग सचेत रूपले हुन नसकेको पनि स्पष्ट पारे । उनले विज्ञानमा आधारित भएकै कारण नेपालमा क्रान्तिहरू सफल भएको दाबी गरे । यद्यपि, अहिलेसम्म जनस्तरबाट भएका क्रान्ति कम्परमाइजका कारण राजनीतिक रूपमा पूर्ण हुन नसकेको उनले स्वीकार गरे । 

बिज्ञापन