घटना समाचार

लघुवित्तको ऋणले परिवारमा कलह: भाइले गरे दाजुको हत्या

बिज्ञापन

रूपन्देही । परिवारले लिएको ऋण तिर्ने विषयमा विवाद भएपछि भाइले आफ्नै दाजुको हत्या गरेका छन् । रूपन्देहीको गैडहवा गाउँपालिका १ का उमेश भरले गत मंगलवार आफ्नै दाजु ३० वर्षीय महेश भरको हत्या गरेको प्रहरीले जनाएको छ । 

बिज्ञापन

भर परिवारले २ वर्षअघि सूर्यपूरामा रहेको लघुवित्तबाट २० हजार रुपैयाँ ऋण लिएको थियो । अहिले साँवा व्याज गरी १ लाख रुपैयाँ पुगेको थियो । ग्रामीण विकास लघुवित्तीय संस्था लिमिटेडबाट लिएको ऋणको व्याज बढिरहेको अवस्थामा मंगलबार दिउँसो लघुवित्तका प्रतिनिधि महेश भरको घरमा आई ऋण मिलानको ताकेता गरेका थिए ।

सोही साँझ उक्त ऋण कसले तिर्ने भन्ने विषयमा भर परिवारमा विवाद सिर्जना भएको थियो । विवादका क्रममा हात हालाहाल हुँदा महेश गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई भैरहवास्थित भीम अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । 

महेशले भाइ उमेशलाई ऋण तिर्न भनेका थिए । उमेश आठ वर्ष वैदेशिक रोजगारीमा बसेर एक महिनाअघि मात्रै घर फर्केका थिए । तर, विदेशबाट ऋण तिर्नकै लागि पटक–पटक पैसा पठाएको भए पनि दाइले नतिरिदिएको भन्दै उमेश आक्रोशित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रहरी निरीक्षक दीपक केसीले विवादले उग्ररूप लिँदै गएपछि हात हालाहालको स्थिति सिर्जना भएको थियो । ढुंगाले हानाहान हुने क्रममा महेशको टाउकोमा ठूलो चोट लागेको थियो । महेशकी पत्नी गीता भरलाई पनि ढुंगाले लागेपछि घाइते भएको केसीले बताए ।  

पत्नी गीताको उपचार भइरहेको छ । उपचारको क्रममा रहेकी गीताले उमेशसँगै बाबु फौदार, आमा चिनियाँ र बहिनीहरू रस्कला एवं शश्कला भरले आफूहरूलाई कुटपिट गरेको बताएकी छन् ।

प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकका बाबु, आमा, भाइ र द्वय बहिनीलाई नियन्त्रण लिएको थियो । तीमध्ये मृतकका भाइ उमेश, बाबु फौदार र आमा चिनियाँविरुद्ध गीताले किटानी जाहेरी दिएपछि म्याद थपका लागि प्रहरीले हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रवीन्द्र रेग्मीले जानकारी दिए । 

बहिनीहरू रश्कला र शश्कलालाई भने कागज गरी प्रहरीले छाडेको छ । घरमा मृतकका बुवा, आमा, श्रीमती र एक छोरीसहित ७ जनाको परिवार बस्दै आएका थिए । 

बिज्ञापन