घटना समाचार

हवल्दार कुट्ने कार्यकर्ता छुटाउन वर्षमान र कुलप्रसादले प्रहरीलाई दिए दबाब !

बिज्ञापन

रुपन्देही । प्रहरी हवल्दारलाई मरणासन्न हुने गरी कुट्ने आफ्नो कार्यकर्ता छुटाउन माओवादी केन्द्रका नेता वर्षमान पुन र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दबाब दिएका छन् ।

बिज्ञापन

मंगलबार बेलुका त्रिवेणी गाउँपालिका- ७ अँधेरीखोलामा प्रहरी हवल्दार रामकुमार बाँठालाई सोही वडामा माओवादीबाट वडाध्यक्षमा पराजित खिमबिक्रम केसी, केशव बीसीसहित ९ जनाको समूहले कुटपिट गरेको थियो । उक्त समूहको कुटाइबाट प्रहरी हबल्दार गम्भीर घाइते भएका थिए ।

तर, माओवादी नेताहरुको दबाबमा आक्रमण गर्नेलाई छाड्न र मुद्दा दर्ता गर्नसमेत नदिइएको पीडित पक्षले जनाएको छ । मंगलबारको घटना भए पनि प्रहरीले बुधबार साँझसम्म मुद्दा दर्ता नगरी मेलमिलाप गर्न दबाब दिएको घाइते बाँठाले आफन्तलाई बताएका छन् । उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउखत तथा निलडाम रहेको प्रहरीले जनाएको छ ।

सो वडाका अध्यक्ष मानबहादुर घर्तीले घरबिदामा गएका प्रहरी हवलदार बाँठा स्थानीय माओवादी कार्यकर्ताको कुटाईबाट गम्भीर घाइते भएको र प्रहरीले समेत घाइतेलाई साथ नदिएको स्थानीयले सुनाएको बताए पनि आफू दाङ रहेकाले घटनाबारे विस्तृत जानकारी नरहेको बताए ।

घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिमविक्रम केसीको समूहले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।

डीएसपी घिमिरेका अनुसार कुटाइ खाने हवल्दार बाँठा प्यूठानबाट सुनवलस्थित दंगामा सरूवा भएका थिए । बाँठा रमाना लिएर बिदामा घर जाँदै गर्दा बाटोमा बसिरहेका माओवादीका कार्यकर्तासँग भेट भएको थियो । मोटरसाइकलमा सवार बाँठाले माओवादी कार्यकर्तालाई बाटोमा किन बसिरहेको हो ? भनेर सोधेपछि विवाद सुरु भएको थियो ।

उनीमाथि कुटपिट तथा आक्रमण गर्ने सबैले मदिरा सवेन गरेको खुल्न आएको डीएसपी घिमिरेले बताए । पीडित हवल्दार बाँठाले जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गर्न खोजेपछि प्रहरी अधिकारी भने छलफलबाटै समस्या समाधान गर्ने उपायको खोजीमा लागेका छन् ।

घटनाबारे छलफल तथा अनुसन्धान जारी रहेको प्रहरी अधिकारीले बताएका छन् । घटनापछि दार्बोट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीले प्रहरी हवल्दार बाँठालाई उल्टै दुई घन्टा थुनामा राखेको तथा आक्रमणमा संलग्न माओवादी कार्यकर्तालाई छुटाउन पहल गरेको घाइतेका आफन्तले आरोप लगाएका छन् ।

चौधरी आफैं मदिरा सेवन गरेर बसेको तर घाइतेले मदिरा सेवन गरेको रिपोर्ट पठाएर उल्टो अन्याय गरेको घाइतेका आफन्त मानबहादुर बुढाले बताए । उनले माओवादीका नेताहरु वर्षमान पुन र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले पीडकलाई छुटाउन लागेकाले कारबाहीका लागि पहल गरिदिन भाइले आग्रह गरेको बताए ।

बिज्ञापन