राजनीति

माओवादी केन्द्रले बाबुराम र वामदेवलाई चुनाव चिह्न दिने

बिज्ञापन

नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ । मंगलवार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम नेतृत्वको पार्टीलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो निर्वाचन चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको हो । 

बिज्ञापन

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुरामबीच एउटै निर्वाचन चिह्नमा निर्वाचन लड्ने सहमति भएको थियो । वामदेव गौतमसँग यस विषयमा औपचारिक सहमति भएको सार्वजनिक भएको थिएन । तर, मंगलवारको स्थायी कमिटी बैठकले गौतमको पार्टीलाई पनि निर्वाचन चिह्न दिने निर्णय गरेको हो । 

गौतमलाई दिइने निर्वाचन क्षेत्रको बारेमा भने गठबन्धन दलमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको एक स्थायी कमिटी सदस्यले कृष्णबहादुर महराले जानकारी दिए । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले वामदेव र बाबुरामका कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने जानकारी दिए ।

माओवादी केन्द्र, नेसपा र राष्ट्रिय एकता अभियान एउटै निर्वाचन चिह्नमा निर्वाचन लड्ने जानकारी दिन मंगलवार नै निर्वाचन आयोग जाने तयारीमा छन् । आयोगले आगामी निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता समय साउन २१ देखि ३१ गतेसम्म तोकेको छ । सोहीअनुसार आज दल दर्ता गर्ने अन्तिम दिन हो ।

बिज्ञापन