राजनीति

माओवादी केन्द्रमा ७ उपमहासचिव र ९ सचिवको नाम प्रस्ताव, देव गुरूङ महासचिव

बिज्ञापन

माओवादी केन्द्रको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी चयन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा २१ पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई स्थायी समिति बैठकले अनुमोदन गरेको छ । 

बिज्ञापन

स्थायी समितिको निर्णयलाई अब केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्छ । प्रचण्डले एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, महासचिव, ७ उपमहासचिव र ९ जना सचिवको नाम प्रस्ताव गरेका थिए । 

२१ जनाको पदाधिकारी बनेसँग अब अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नाराणकाजी श्रेष्ठ र उपाध्यक्षको जिम्मेवारी कृष्णबहादुर महराले पाएका छन् । 

देव गुरूङलाई माओवादी केन्द्रको महासचिव बनाइएको छ । प्रचण्डसँग ‘लभ एण्ड हेट’को सम्बन्ध रहेका गुरूङलाई प्रचण्डले आकस्मिक रूपमा महासचिवको जिम्मेवारी दिएका छन् । 

माओवादी केन्द्र विभाजित नहुँदा गुरूङ मोहन वैद्य खेमामा थिए । त्यसबेला पार्टी भित्रको अन्तरसंघर्षमा उनले प्रचण्डलाई साथ दिँदैनथे । पार्टी विभाजन हुँदा मोहन वैद्यसँगै नयाँ पार्टी बनाउन गएका गुरूङ पछि रामबहादुर थापा बादलसँगै माओवादी केन्द्र फर्किएका थिए । 

माओवादी केन्द्रमा फर्किएपछि भने गुरूङले प्रचण्डलाई बलियो साथ थिए । माओवादी केन्द्र भित्र वैचारिक नेताको रुपमा गुरूङलाई चिनिन्छ । 

माओवादी केन्द्रभित्र महासचिव बन्नका लागि वर्षमान पुन र जनार्दन शर्माले प्रयास गरिरेहका थिए । उनीहरूलाई उपमहासचिव बनाइएको छ । 

पम्फा भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मातृका यादव, र हरिबोल गजुरेलले पनि उपमहासचिवको जिम्मेवारी पाएका छन् । पम्फा भुसालले उपाध्यक्ष बन्ने आकांक्षा राखेकी थिइन् ।

कुनै बेला माओवादीभित्र भुसाल महासचिवको दाबेदारको रूपमा चर्चा हुने गरेको थियो । 
त्यसैगरी, प्रचण्डले पार्टीको सचिवमा ९ जनाको नाम प्रस्ताव गरेका थिए । सचिवको जिम्मेवारी पाउनेमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की छन् । 

अहिले केन्द्रीय कार्यालय सचिव रहेका श्रीराम ढकाललाई कोषाध्यक्ष बनाउने निर्णय माओवादीको स्थायी समिति बैठकले गरेको छ ।

गत पुसमा भएको माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । केन्द्रीय समितिबाट माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको थिएन ।
केन्द्रीय समितिले स्थायी समिति र पोलिटब्युरो चयन गरेपछि प्रचण्डले लामो समय लगाएर पदाधिकारीको प्रस्ताव ल्याएका थिए । 

यी हुन् माओवादी केन्द्रका पदाधिकारीको सूची 

अध्यक्षः पुष्पकमल दाहाल ‘प्रचण्ड’ 
वरिष्ठ उपाध्यक्षः नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ 
उपाध्यक्षः कृष्णबहादुर महरा 
महासचिवः देव गुरुङ 
उपमहासचिवः वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल सचिवः  दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की 
कोषाध्यक्षः श्रीराम ढकाल प्रशान्त

बिज्ञापन