राष्ट्रिय समाचार

प्रशासन र नगरपालिकाको कमजोरीले सयौँको नागरिकतामा त्रुटि

बिज्ञापन

कालीकोट | कालीकोट जिल्ला प्रशासन कार्यालय र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढीको नागरिकताको प्रमाणपत्रमा त्रुटि भएको पाइएको छ । विसं २०७४ वैशाख १ गतेदेखिका नागरिकता बाहक तिलागुफाका नागरिकको नेपाली नागरिकता एउटै भए पनि अंग्रेजी अनुवादमा भने त्रुटि पाइएको हो ।

बिज्ञापन

नगरपालिकाले जन्म, विवाह, मृत्युदर्ता, नाता प्रमाणित, नागरिकता बनाउनेलगायत अन्य सबै कामका लागि सेवाग्रहीलाई सिफारिस लेटरप्याडमा एउटा र प्रशासनले दिने नागरिकताको अंग्रेजी भाषामा अर्को अक्षर हुँदा सेवाग्रहीलाई सरकारी कामकाज गर्न समस्या भएको हो । नगरपालिकाले २०७४ वैशाख महिनादेखि सेवाग्रहीलाई दिएका हरेक सिफारिस कागजपत्रमा तिलागुफाको ‘फा’ अक्षरको अंग्रेजीमा ‘पिएचए’ छ तर स्थानीय प्रशासनले दिएको नागरिकतामा ‘एफए’ भएर फरक पर्दा सेवाग्राही समस्यामा परेका हुन् ।

उक्त नगरपालिकाको वडा नं ३ स्थित कालीकोट फोइमहादेव गाउँका दीक्षा हमालले नागरिकता र शैक्षिक तथा अन्य महत्वपूर्ण कागजमा अक्षर फरक पर्दा समस्या भएको बताए । ‘राहदानी विभागमा पासपोर्ट बनाउँदा नगरपालिकाले दिएको कागजपत्र र मेरो शैक्षिक प्रमाणपत्रअनुसार ‘पिएचए’ नै आधिकारिक हुन्छ भनेर उल्लेख गर्‍यो,’ हमालले भने, ‘यता नागरिकताको अंग्रेजी भर्सनमा ‘एफए’ छ ।’ काठमाडौंबाट कालीकोट पुगी साउन ९ गते नागरिकता बनाएर फर्केको बताउँदै उहाँले नागरिकता र अन्य कागजमा फरक परेको अक्षर सच्याउन फेरि कालीकोट पुगेको जनाए । 

उनले भने, ‘नागरिकता बनाएको एक महिनाभित्रै नागरिकता सच्याउने प्रावधान छ भनेपछि साउन २९ गते नागरिकतामा ‘एफए’ अक्षर विस्थापन गरी ‘पिएचए’ बनाइदिन भनेर काठमाडौँबाट पुनः कालीकोट फर्के  तर साउन ३१ गते कालीकोट प्रशासनले अक्षर नसच्याएर ‘एफए’ र ‘पिएचए’ अक्षर भएको ठाउँ (पालिका) एउटै हो भन्ने थप कागज दिएपछि काठमाडौं फर्कनुको विकल्प रहेन ।’ 

प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले गृह मन्त्रालयको सफ्टवेयरले ‘एफए’ नै देखाउने भएकोले त्यही अनुसारको नागरिकता दिइएको बताए । उनले भने, ‘तिलागुफा नगरपालिकाले ‘पिएचए’ नै बनाउन भनेर प्रशासनमार्फत गृह मन्त्रालयमा निर्णय गरेर पठाएमा सफ्टवेयर त्यही बनेर आउँछ र त्यही अनुसार नागरिकता बन्छ ।’ यो त्रुटि हुनुमा नगरपालिका मुख्य जिम्मेवार रहेको प्रजिअ शर्माले बताए । 

बिज्ञापन