राजनीति

माओवादी केन्द्रसँग एजेण्डा मिलेकोले चुनावी तालमेल गरिएको होः बाबुराम भट्टराई

बिज्ञापन

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र)सँग चुनावी तालमेल गरेको बताएका छन् । 

बिज्ञापन

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले शुक्रवार पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रसँग तालमेल गर्नुका कारण खुलाएका हुन् । उनले आफूहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको बताए । माओवादी केन्द्र पनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको उनको भनाइ थियो । 

उनले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको उल्लेख गर्दै माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्विरोध रहेको स्पष्ट पारे । डा. भट्टराईले आफूहरू राम्रो काम गर्ने र गलत तत्वहरूलाई साथ दिन नहुने पक्षमा रहेको भन्दै यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको बताए । 

‘त्यही पुरानै छोडेको माओवादीसँग के मिल्छ र भन्ने पनि पर्नसक्छ । तर अरुको सापेक्षतामा संघीयता अपूर्ण छ, यसलाई पूर्णता गर्नुपर्छ भन्ने त माओवादी पार्टी हामी छँदै त्यतिबेलै नोट अफ डिसेन्ट लेखेर राखेको हो । त्यसैले पहिचान र अधिकारसहितको संघीयता हुनुपर्छ भन्ने कुरामा त तत्कालीन माओवादीले पनि नोट अफ डिसेन्ट लेखेको र अहिले पनि त्यो मुद्दा हामीसँग मिल्छ । दोस्रो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको जुन कुरा हामीले गरिराखेका छौँ । त्यतिबेलाको माओवादीले पनि नोट अफ डिसेन्ट लेखेकै हो । अहिले पनि त्यो मुद्दा उनीहरूसँग मिल्छ’, उनले भने, ‘भलै, सुशासन आदिको मुद्दाहरूमा हामी र उहाँहरू फरक छ । हामी चाहिँ सुशासन राम्रोसँग काम गरेर जानुपर्छ । र गलत ढंगले त्यस्ता तत्वहरूलाई साथ दिनु हुँदैन भन्ने कुरा हामी राख्छौँ । त्यहाँ हाम्रो थोरै अन्तर्विरोध पनि छन् । अन्तर भएको हुनाले हामी अलग पार्टी हौँ । तर फेरि मुलभूत मुद्दा चाहिँ फेरि त्यहाँनिर मिल्छ ।’ 

उनले आफूहरू माओवादी केन्द्रमा प्रवेश गरेको नभई आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको स्पष्ट पारे । एकताको सम्बन्धमा चुनावपछि मात्रै छलफल हुने भन्दै अध्यक्ष भट्टराईले माधव नेपालसहितको वृहत समाजवादी केन्द्र निर्माणमा सहमती जुटेमा एकता हुनसक्ने बताए । 

बिज्ञापन