आस्था /आध्यात्म

हामीले सोचेर केहि हुँदैन, जबसम्म ईश्वरले चाहनु हुँदैन– नर बहादुर रावल (अध्यक्ष– स.नि.म. नेपाल)

बिज्ञापन

साप्ताहिक सत्संग गर्न २० कि.मी.हिडेर आउँछन्

बिज्ञापन

बालापुर–चनौटा । हामीले सोचेर केहि हुँदैन, जबसम्म ईश्वरले चाहनु हुँदैन । मनले धेरै कुरा चाहेको वा सोचेको हुन्छ तर जबसम्म स्वयं प्रभु–ईश्वरको वा सत्गुरुको कृपा हुँदैन तबसम्म त्यो सम्भव हुँदैन । किनभने संसारमा सबै गतिविधि गर्ने–गराउने ईश्वर–परमात्मा नै हुन्छ, सबै कार्य उसको छत्रछायामा भइरहेको हुन्छ, उसले चाहेर नै भइरहेको हुन्छ । हामीले चाहेर केहि हुँदैन, उक्त कुरा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले हेटौडामा ब्रम्हलिन सन्त जंग बहादुर लामाको श्रद्धाञ्जली सत्संग कार्यक्रममा सहभागी हुने क्रममा बाटोमा पर्ने कपिलवस्तुको चनौटा स्थित बालापुरमा विन्देश्वर चौहानको घरमा आयोजित सत्संग कार्यक्रमा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामीले जति ठुलो घर लगाएपनि त्यस घरमा बस्ने कोहि ब्रम्हज्ञानी छैन वा त्यस घरमा कुनै सन्तको आगमन हुँदैन र त्यहाँ सत्संगको आयोजना हुँदैन भने त्यो घर वा महल मरघट (मसानघाट) जस्तै हुन जान्छ । ‘अतिथि देव भवः’ भन्ने गरिन्छ । अतिथिलाई भगवान समान मान्ने गरिन्छ त्यसमा पनि त्यस घरमा सन्त–महात्माहरुको दर्शन हुन्छ भने त्यो घर पवित्र हुन जान्छ । त्यहाँ कुनैकिसिमको संकट वा वाधा–अड्चन आउन सक्दैन । आज हरेक सन्तहरुले आफ्नो घरमा सन्तहरुलाई बोलाएर घरलाई पवित्र गर्ने गर्छन्, यहि नै हामी सबै सन्तहरुको कर्तव्य र सेवा भाव हो’, उहाँले बताउनुभयो ।

रावलले धर्म ग्रन्थ वा शिव पुराणमा उल्लेख गरिएको कुरालाई स्मरण गर्दै भन्नुभयो कि एक पटक सती जी घुम्दै–घुम्दै जाँदा एक ठाउँमा शिव भगवानले बाटोमा रहेको धुलोलाई उठाएर आफ्नो निधारमा लगाउनुभयो तब सतीले शिव भगवानलाई सोध्नुभयो– ‘हजूरले यस्तो के गरिराख्नु भएको छ, किन यो धुलोलाई आफ्नो निधारमा लगाउनुभयो ?’ भगवान शिवले सतीको प्रश्नको उत्तर दिदै भन्नुभयो– ‘यो ठाउँमा सन्तहरुको चरण परेको हो, त्यसैले मैले यहाँको धुलोलाई आफ्नो निधारमा लगाएको हुँ ।’ भगवान शिवको उत्तर सुनेर सतीले फेरि प्रश्न गरिन– ‘यो त धेरै वर्ष भइसक्यो होला, कति पानी आयो होला, हावा–हुरी आयो होला र त्यस माटोलाई बगाएर वा उडाएर लगिसक्यो होला, अहिलेसम्म कहाँ त्यो माटो रहिरहन्छ र ?’ सतीको कुरा सुनेर भगवान शिवले भन्नुभयो, ‘जमिनको सात तहसम्म सन्तहरुको चरण परेको जमिन पवित्र हुन्छ ।’ भनेर भगवान शिवले सतीलाई सम्झाउनुभयो भनेर शिव पुराणमा उल्लेख गरिएको छ । त्यसैले हामी सन्त–महात्माहरुको सेवा सत्कार गर्न सकौ, सधै आफ्नो मनलाई सेवा, सत्संग, सुमिरणमा लगाई राखौं ताकि यो मन कतै भागेर जान नपाओस, उहाँले बताउनुभयो ।

स्मरण रहोस कि बालापुर यस्तो ठाउँ हो जहाँका सन्तहरु सत्संग गर्नको लागि प्रत्येक शनिबारको दिन २० किलो मिटर हिडेर इटावामा आयोजित हुने साप्ताहिक सत्संगमा आउने गर्दछन् तैपनि उनीहरुको उत्साह, जाँगर, लगन, प्रेम–सत्कार, अनुशासनलाई देख्दा साँच्चै हामी सबैले अनुकरण गर्ने लाएकको रहेको छ ।

उक्त सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका सहसचिव नर बहादुर विश्वाकर्मा, सल्लाहकार श्रीराम काफ्ले, सन्त निरंकारी मासिक पत्रिकाका सम्पादक पूर्ण कुमाल, गायक तेज बहादुर बोहरा, विन्देश्वर चौहान लगायत स्थानीय सन्तरुको सहभागीता रहेको थियो ।

बिज्ञापन