टीकापुर

टीकापुर नगरपालिकाद्वारा आफ्नो सय दिनको उपलब्धिहरु सार्वजनिक

बिज्ञापन

पूर्ण कुमाल

बिज्ञापन

टीकापुर, १७ भाद्र । टीकापुर नगरपालिकाद्वारा आफ्नो सय दिनको उपलब्धिहरु सार्वजनिक गरेको छ । हिजो नगरपालिकामा पत्रकार सम्मेलनगरि टीकापुरका मेयर रामलाल डगौरा थारुले आफूले कार्यभार सम्हालेको सय दिनमा गरेका १७ बुँदे महत्वपूर्ण कामहरुको विवरण प्रस्तुत गर्नुभएको थियो ।


उहाँले आफूहरुले टीकापुर नगरपालिकाको कार्यभार सम्हाली रहँदा निरन्तर नगरको दिगो विकास तथा नगरवासीहरुको ईच्छा चाहना अनुसार सेवाप्रवाहका साथै नगरलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई आत्मसाथ विभिन्न विज्ञहरुसंगको छलफल तथा परामर्श लिई सोही अनुसार कार्यहरु अगाडि बढाईको कुरा बताउनुभयो ।


आफ्नो नेतृत्वको समूहले सय दिनमा जनताका असिमित इच्छा–आकांक्षा अनुसार ठुलो उपलब्धि गर्न नसकेपनि छोटो समयमा केहि महत्वपूर्ण नितिगत निर्णय गर्नुको साथै महत्वपूर्ण उपलब्धिहरु हासिल गर्न समयमा योजना तथा कार्यहरु सम्पन्न गर्ने गरी कार्ययोजना अनुरुप अगाडि बढेको कुरामा जोड दिदै सिमित स्रोतसाधन तथा नगरवासिका असिमित इच्छा–अकांक्षाहरुलाई मध्यनजर गरि सिमित साधनको अधिकतम प्रयोग र मितव्ययता कायम गर्दै आफ्नो कार्यभारलाई अगाडि बढाउँदै लिएको प्रष्ट पार्नुभयो ।


मेयर रामलालले उज्यालो कार्यक्रम अन्र्तगत टीकापुर नगरपालिका क्षेत्रलाई उज्याला बनाउने उद्देश्यले विभिन्न चोक चौराहमा हैलोजन लाईट जडान कार्य आरम्भ गरिसकेको बताउनुभयो । त्यस्तै फोहोरलाई दिर्घकालिन रुपमा व्यवस्थापनको लागि विभिन्न संघ–संस्थाहरुसंग समन्वय भइरहेको र प्रदेश सरकारसंग समन्वयको कार्यलाई अगाडि बढाईएको बताउनुभयो ।


सडक किनार र सार्वजनिक स्थलमा अव्यवस्थित तरीकाले राखेका निर्माण सामग्रीहरुलाई हटाउने कामको थालनी गरिएको, ढल निकासको कार्यलाई तत्काल समाधन गर्न आफ्नै जेसिभि प्रयोग गरि मुहान निकास र ढलको सरसफाई गर्ने काम गरिएको, असारे विकासको अन्त गर्न पहल चालिएको, औद्योगिक ग्राम स्थापना सम्भाव्यता अध्ययन तथा जग्गाको सुनिश्चितता गरि लगानी सम्मेलनको माध्यबाट यस क्षेत्रमा लगानी भित्र्याउन लगानी सम्मेलन निकट भविष्यमा गर्न तयारी भइरहेको, त्यस्तै नगर क्षेत्रमा बन्द अवस्थामा रहेका शौचालयलाई मर्मत सम्भार र रंगरोघन गरि पुनः संचालनमा ल्याउने प्रकृया अगाढि बढेको बताउनुभयो ।


उहाँले टीकापुर नगरपालिकालाई हरियाली बनाउन विभिन्न ठाउँमा तारवार गरि वृक्षारोपणको कार्य प्रकृया अगाडि बढाईएको, टीकापुर पार्कलाई स्वस्थ सफा र प्लाष्टिक रहित बनाउन पार्कलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गरि कार्यक्रम संचालनका प्रकृया अगाडि बढाईएको, त्यस्तै टीकापुर नगरपालिकाको बाहिरी चक्रपथलाई यसै आर्थिक वर्ष भित्र रेखाकंन गरि कालो पत्रे निर्माणको कार्यको थालनिको कार्य अगाडि बढाइएको, टीकापुर नगर विकास समितिको कार्यालय रहेको क्षेत्रलाई खडक स्मृति पार्क घोषणा गर्ने, टीकापुर नगरपालिकालाई हेरीटेज शहरका रुपमा विकसित गर्ने योजना रहेको बताउनुभयो ।


नेपालमा शिक्षा क्षेत्रको गुणस्तर दिनानुदिन तल खस्दै गएकोमा शिक्षालाई गुणस्तरीय र समय अनुरुप प्रभावकारी बनाउन यस क्षेत्रका विद्यालयका शिक्षकहरुको दरबन्दि मिलान र विद्यालयको प्रभावकारी अनुगमन गरिने, त्यस्तै टीकापुर अस्पतालमा बालरोग र स्त्री रोग विशेषज्ञ सेवा उपलब्धि गराउने र सिकसेल र सर्प दंस उपचारको लागि छुट्टै अस्पताल स्थापनाको प्रकृया अगाडि बढाईएको बताउनुभयो ।


मेयर रामलालले अन्तमा अस्तव्यस्त रहेको सिटी हललाई व्यवस्थित रुपमा चलायमान बनाउन थप कार्य गरिने र बजार क्षेत्रमा रहेका खुल्ला सार्वजनिक स्थललाई हरियाली बगैचाका नगर बनाउन विभिन्न बैंक, वित्तिय संस्था तथा सहकारीसंग सहकार्य गरि संरक्षणको लागि पहल गरिने बताउनुभयो ।


कार्यक्रमको अन्तमा उपस्थित पत्रकारहरुले टीकापुरको विकाससंग सम्बन्धित विभिन्न प्रश्नहरु सोधेका थिए जसको जवाफ नगर प्रमुख तथा टीकापुर नगरपालिकाका प्रशासकिय अधिकृतले एक–एक गरेर जवाफ दिएका थिए ।

बिज्ञापन