राष्ट्रिय समाचार

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन, शव नजलाइने

बिज्ञापन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।

बिज्ञापन

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गरे ।

जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो ।

उता वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको शरीरलाई नजलाउने निर्णय भएको छ । यसअघि नै मृत्युपछि आफ्नो शरीर दानगरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो ।

किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच आइतबार भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय गरेको हो ।

आइतबार बिहान १०३ वर्षको उमेरका निधन भएका जोशीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ ।

शवमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपरिसरमा राखिने निर्णय भएको अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए ।

उनले भने, ‘आज अन्तिम श्रद्धाञ्जलीका लागि महानगर परिसरमा शरीर राख्नेछौँ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उहाँको शरीर अध्ययनका लागि राख्नेछौँ ।’

अस्पतालले जोशीको शरीर कसरी राख्ने भन्नेबारे विस्तृतमा अध्ययन गरिसकेकाले उनकै इच्छाअनुसार शरीर अध्ययनका लागि राखिने उनले बताए ।

किष्ट अस्पतालमा भएको छलफलमा जोशीका कान्छा छोरा डाक्टर पूर्णराज जोशीले आफूहरूको इच्छा परम्पराअनुसार अन्त्येष्टि गर्ने भएपनि बाबुको इच्चालाई मान्न तयार भएको बताए । जोशीले आफू एक सय वर्ष पुगेको अवसरमा २०७७ सालमा आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए ।

बिज्ञापन