राजनीति

रावल र भुसालप्रति ओलीको कटाक्ष : पार्टीको हितमा एक शब्द नबोलेका एकाध मान्छेले टिकट नपाउनु स्वाभाविक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरूले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन् । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै उनले अवसरै अवसर पाएकाहरूले सधैं टिकट पाउनुपर्ने छ र ? भनी प्रश्नसमेत गरे । 

शनिवार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरूलाई टिकट नदिएर सो अवसर अरूलाई दिइएको स्पष्ट पारे । उनले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरू एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरूले फेरि टिकट नपाउनु स्वभाविक भएको उल्लेख गरे । उनले  त्यसको पछि नलाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए । 

बिज्ञापन

‘२०४८ सालदेखि सांसद भएका छन, भएका छन । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र ? काम कस्तो गरेको छ, त्यो नभनौं । पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन । पार्टीको हितमा एक शब्द बोलेको होइन । आन्दोलनको हितमा एक शब्द बोलेको होइन । अरु–अरु ठाउँमा तमासा देखाइएको छ । त्यस्तो मान्छे एकाधले पाएन । स्वभाविक हो नि । पालो गर्नु पर्दैन ?’, ओलीले भने, ‘पार्टीको पक्षमा त्यस्तो असाधारण भूमिका भएपनि ल उहाँको भूमिका आवश्यक छ, उहाँ नभइकन पार्लियामेन्ट चल्दैन, उहाँ नभइकन देश हाँकिदैन भन्ने स्थिति त होइन । यस्ता कुराहरूको पछि नलाग्न पनि म हाम्रो साथीहरूलाई आग्रह गर्न चाहन्छु । कुनै सेन्टिमेन्टमा बग्नुपर्ने आवश्यक्ता छैन ।’

ओलीले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने आश्वासन समेत दिए । आवश्यक्ताभन्दा बढी अवसर पाएकाहरू फेरि पनि अवसरको पछि कुँदेको भन्दै ओलीले त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने बताए । उनले आगामी दिनमा योग्यता, क्षमता र योगदानको आधारमा हरेकलाई अवसर दिने प्रतिबद्धता समेत व्यक्त गरे । 

अध्यक्ष ओलीले मंसिर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गरे । उनले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको दोहो¥याउँदै त्यस लक्ष्य प्राप्तिका लागि आगामी मंसिर ४ गतेको निर्वाचन सार्थक हुने विश्वाससमेत व्यक्त गरे

‘अब परमादेश होइन जनादेश खासगरी मंसिर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसिर ४ गतेको निर्वाचनबाट गर्दैछौं । त्यसकारण म सम्पूर्ण दाजुभाइ, दिदी-बहिनीहरूलाई यो निर्वाचन साधारण आवधिक निर्वाचन मात्रै होइन । यो निर्वाचन वास्तवमा असाधारण निर्णय गर्नुपर्ने, देश जित्ने कि हार्ने भन्ने कुराको टुंगो लाग्ने निर्वाचन यस्तो फैसला गर्नुपर्नेछ , यस निर्वाचनबाट’, ओलीले भने, ‘म सम्पूर्ण नेपाली दाजुभाई दिदी-बहिनीहरूलाई आग्रह गर्न चाहन्छु–यो निर्वाचनलाई हामीले सार्थक निर्वाचन र देशका निम्ति, देशको हितको पक्षमा फैसला गर्ने गरीको निर्वाचनको रुपमा यसलाई अगाडि बढाउन म सबैलाई योगदान गर्न आग्रह गर्न चाहन्छु ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।