National Election

यी हुन् स्वतन्त्रबाट प्रतिनिधिसभामा निर्वाचित पाँच नेता

बिज्ञापन


काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म राजनीतिक दल छाडेर स्वतन्त्र उम्मेदवारी दिएका पाँच जनाले जित हासिल छन् । राजनीतिक दल छाडेर स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने पाँच जनामध्ये एक हुन्, प्रभु साह ।

बिज्ञापन

निर्वाचनको मुखैमा नेकपा एमाले त्यागेर रौटहत–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका साह आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै जित हासिल गरेका छन् ।

साहले आफ्ना प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरेका हुन् । प्रभु् साहले ३२ हजार ४३७ मत ल्याए भने ओमप्रकाशले २५ हजार २०० मत पाए । प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन जनाएको थियो ।

यस्तै, सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन् । आफ्नो पार्टी कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

कांग्रेस छाडेर स्वतन्त्र बनेका सिंह २० हजार १७ मतसहित विजयी भए । उनले कांग्रेसकै उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरेका हुन् । नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् ।

यस्तै, मोरङ–५ मा पनि स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) विजयी भएका हुन् । सत्ता गठबन्धनसहित एमाले र जसपाको गठबन्धनलाई समेत फराकिलो मतान्तरले हराउँदै उनी २१ हजार ८ सय २० मतसहित विजयी भएका द्धन् ।

उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका नेकपा माओवादीका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ र एमाले, जसपा गठबन्धनको उम्मेदवार सपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाए ।

एमाले र जसपाबीच चुनावी गठबन्धन हुँदा यो क्षेत्र एमालेले जसपालाई सुम्पेपछि एमाले त्यागेर उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
यस्तै, रौतहट–२ ४ मा पनि स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका हुन् । साहले ३२ हजार ८४२ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आलम २८ हजार २४८ मतमा रोकिए ।

लामो समय माओवादीमा राजनीति गरेका साह मधेसवादी दल हुँदै केही समय अघि एमाले प्रवेश गरेका थिए । पार्टीले टिकट नदिएपछि साहले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

यस्तै, बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । निर्वाचनको मुखैमा आएर नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

चौधरी नेकपा माओवादीका सुरेश पन्थलाई झिनो मतले पराजित गर्दै सांसद बनेका छन् । लालवीर २६ हजार ५२० मत ल्याएर निर्वाचित हुँदा माओवादीका पन्थले २६ हजार ३८४ मत पाए । जसमा चौधरी र पन्थीबीचको मतान्तर १ सय ३६ मात्र रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा अदालतले दोषी ठह¥याएपछि कारागारमा रहेका पूर्वसांसद रेशम चौधरीलाई उम्मेदवार बनाउन खोजेपनि कानुनी रुपमा खारेज हुने सम्भावना भएपनि नागरिक उन्मुक्तिले पहिल्यै लालवीर (रेशमका बाबु) को उम्मेदवारी दर्ता गराएको थियो ।

बिज्ञापन