सुदूरपश्चिम प्रदेश

अछाममा पराजयको कारण खोज्दै एमाले

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अछाम जिल्ला कमिटीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भएको पराजयको कारण खोज्न थालेको छ। अछाम जिल्लामा आफ्ना उम्मेदवारले जित्ने आकलनसहित निर्वाचन अभियान सञ्चालन गरेको एमालेले पराजयको भित्री कारण केलाउने भएको छ। एमालेले विभिन्न माध्यमबाट सूचना सङ्कलन, तथ्यको खोजी, विश्लेषण र आगामी दिनको योजना निर्माण गर्न तल्ला कमिटीतिर ध्यान दिएको छ।

गठबन्धनको मत, पार्टीका नेता र कार्यकर्ताको भूमिका, गतिविधि र निर्वाचनमा सक्रियताका बारेमा तल्लो स्तरमै बैठक, छलफल गरेर पराजितका कारण खोज्न थालेको जनाइएको छ। एमाले अछामका अध्यक्ष चन्द्र बोहराले भन्नुभयो, “जितिने भनिएको चुनाव पनि हारिएको छ, त्यसको कारण खोजिरहेका छौँ। कहाँ कसको भूमिका के रह्यो भनेर विश्लेषण गरिरहेका छौँ।” 

आफ्नै पार्टीका उम्मेदवारलाई निर्वाचनमा पराजित गर्न सक्रिय केही व्यक्तिका आधार र प्रमाणहरू पार्टीमा आएको एमाले अछामले जानकारी दिएको छ। जनताका पक्षमा पार्टीले काम गरेको भए पनि पराजितको वस्तुस्थिति कारण, आगामी दिनमा पार्टीलाई बलियो बनाउन आन्तरिक र बाह्य कारणको समीक्षात्मक बैठक भइरहेको एमाले अछामका सचिव भीमबहादुर रावलले बताउनुभयो।

निर्वाचनका क्रममा पार्टीका नेता र कार्यकर्ताको निष्क्रियता, विपक्षीसँगको साँठगाँठ, विभिन्न आश्वासन र प्रलोभन, पार्टीका हितविरुद्धका अभिव्यक्तिलगायतका सूचनाहरू एमाले अछामले सङ्कलन गरिरहेको बताइएको छ। पार्टीको तल्लो तहबाट आएको रिपोर्ट, पार्टीमै आएका सूचना र त्यसको विश्लेषण गरेर जिल्ला कमिटीले आगामी योजना बनाउने बताइएको छ। 

अध्यक्ष बोहराले भन्नुभयो, “हामी अहिले पालिकास्तरमा चुनावी समीक्षामा छौँ। त्यहाँबाट आएका तथ्य केलाएर पार्टीको जिल्ला कमिटीले गहन छलफल गरेर उचित हुनेछ।” यस निर्वाचनमा एमाले उम्मेदवारलाई सम्मानित मत आएको निष्कर्ष एमालेको छ। अछामका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा वाम–लोकतान्त्रिक गठबन्धन विजयी भएको थियो। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।