राष्ट्रिय समाचार

रेशम छुट्ने भन्दै फूलमाला लिएर डिल्लीबजार कारागार पुगे नागरिक उन्मुक्तिका कार्यकर्ता 

बिज्ञापन

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता-कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला भएका छन् ।

बिज्ञापन

सरकारले रेशमको रिहाइका लागि अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट उनीहरू पार्टीको झण्डासहित फूलमाला बोकेर स्वागतका लागि जेलबाहिर पुगेका हुन् । त्यहाँ पुगेका पत्रकारलाई फोटो तथा भिडिओ नखिच्न नागरिक उन्मुक्तिका कार्यकर्ताले भनेका थिए ।

आइतबार सरकारले अध्यादेश ल्याउने निर्णय गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुने र रेशम चौधरी छुट्ने मिडियालाई बताएकी थिइन् ।

डिल्लीबजार कारागार प्रशासनले भने यसबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ ।

चुनाव सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कारागारमै गएर चौधरीलाई भेटेका थिए । उनीहरूले नयाँ बन्ने सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई सहभागी हुन आग्रह गरेका छन् । जवाफमा चौधरीले थरुहट आन्दोलनमा सहभागीमाथि लगाइएको मुद्दा खारेज र आममाफी दिनुपर्ने प्रस्ताव गरेका थिए ।

टीकापुर हत्याकाण्डमा एक बालकसहित आठ सुरक्षाकर्मीले ज्यान गुमाएका थिए । सो घटना रेशम चौधरीकै निर्देशनमा भएको ठहरसहित अदालतले उनलाई आजीवन काराबासकाे सजाय सुनाएकाे थियाे ।

बिज्ञापन