राजनीति

दोस्रो तहका नेताको प्रयासमा ओली-प्रचण्ड संवादको सम्भावना बढ्दै

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ । गुरुङले मंगलबार साँझ बालकोट पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

बिज्ञापन

अध्यक्ष र महासचिवबीच एक घण्टा बढी भएकोे संवादबारे दुवै पक्षले केही खुलाएका छैनन् । नयाँ सरकार निर्माणको दौडधुप बढिरहेका बेला दुई प्रमुख कम्युनिष्ट पार्टीका नेताबीच भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि एमाले सचिव रघुविर महासेठ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । महासेठले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनी सरकार गठनको आगामी रणनीतिबारे ओलीको सन्देश बोकेर खुमलटार पुगेको स्रोत बताउँछ ।

यसअघि ओलीले प्रचण्डलाई मिलेर जान प्रस्ताव गरेका थिए । तर, प्रचण्डले ओलीलाई केही समय कुरेर अघि बढ्ने जवाफ त्यसबेला दिएका थिए ।

सत्ता गठबन्धनले राष्ट्रिय जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर बहुमत जुटाउने कोसिस तीव्र पारिरहेका बेला एमाले र माओवादीबीच पनि संवाद सुरु भएको हो । सरकार गठनको रस्साकस्सी चलिरहेका बेला एमाले र माओवादीबीच बाक्लिएको संवादले नयाँ सम्भावनाको ढोका खुल्ने संकेत देखिएको छ ।

पछिल्लो समय एमाले र माओवादी दुवै दलका दोस्रो तहका नेताहरु फेरि पनि मिलेर जानुपर्ने पक्षमा छन् । त्यहीअनुसार उनीहरु लविङमा जुटिरहेका छन् । यस्तोमा ओली र प्रचण्डबीच चाँडै संवाद हुन सक्ने अनुमान छ ।

बिज्ञापन