घटना समाचार

कैलाली गोली काण्डः सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायीले बन्द गरे पसल

बिज्ञापन

कैलाली । कैलालीको अत्तरियामा आज सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेका छन् । दिनदहाडै गोली प्रहार गरी व्यवसायीमाथि लुटपाट भएको भन्दै सुरक्षा र आक्रमणकारीलाई पक्राउको माग गर्दै पसल बन्द गरेका हुन् ।

बिज्ञापन

व्यवसायीहरूमा त्रास बढेको र सुरक्षाको अनुभूति नभएको भन्दै व्यवसाय बन्द गर्नुपरेको सुनचाँदी व्यवसायी सङ्घ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले बताए । उनले व्यवसायीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्नसमेत प्रहरीसँग माग गरेका छन् ।

सोमबार साँझ गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतममाथि मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको थियो । सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर उनीसँग रहेको करिब ३३ तोला सुन लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनले सीसी क्यामेराको भिडियोका आधारमा अनुसन्धान भइरहेको बताए । अहिलेसम्म आक्रमणमा संलग्नहरू भने पक्राउ परेका छैनन् । गोली लागेर घाइते भएका गौतमको अवस्था खतरामुक्त छ । उनीमाथि दुई गोली प्रहार भएको थियो ।

बिज्ञापन