राजनीति

माओवादीको प्रधानमन्त्री दाबी जनादेशविपरीत : भुसाल

बिज्ञापन

रुपन्देही । नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले माओवादी केन्द्रले कांग्रेससँग ब्ल्याकमेलिङ गर्दै जनादेशविपरीत सरकारको नेतृत्व दाबी गरेको बताएका छन् ।

बिज्ञापन

सोमबार रुपन्देहीमा पत्रकारसँग कुरा गर्दै उनले माओवादीले सरकारको नेतृत्व गर्न पाउनु पर्छ भन्नु अप्राकृतिक र जनादेशविपरीत रहेको जिकिर गरे ।

नेपाली कांग्रेसभित्र संस्थापन पक्षका नेता भुसालले हालै सम्पन्न निर्वाचनले माओवादी केन्द्रलाई सरकारको नेतृत्व गर्ने गरी मत नदिएको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न राजनीतिक सक्रियता देखाएकोतर्फ लक्षित गर्दै नेता भुसालले तेस्रो दल बनेको माओवादीले सरकारको नेतृत्वमा दाबी गर्न नमिल्ने तर्क गरे ।

नेता भुसालले स्थिर सरकारका लागि नेपाली कांग्रेसको नेतृत्वमा एमालेसहितको सरकार उत्तम विकल्प हुनसक्ने औंल्याए ।

‘पहिलो हुने दलले प्रधान भूमिका लिने र दोस्रो हुने दलले दोस्रो भुमिकामा रहेर स्थिर सरकार दिने अभ्यास लोकतन्त्र संस्थागत नहुँदासम्मका लागि जरूरी देखिन्छ’, उनले भने, ‘निर्वाचनबाट प्राप्त जनादेशले स्थिर राजनैतिक प्रणालीको लागि प्रमुख दलहरुबीच उच्च प्रकृतिको सहकार्य खोजेको छ ।’

कांग्रेसको नेतृत्वमा सरकार गठन हुन नसके एमालेको नेतृत्वमा एमाले र माओवादीसहित साना दल एवम् स्वतन्त्र सांसदहरुको सरकार बन्दा सरकार गठनको प्रक्रिया प्राकृतिक हुने र यो स्थायी पनि हुने भुसालको तर्क छ ।

विगतमा माओवादी र एमालेबीच सत्ता सञ्चालन गर्न भएको गोप्य सहमतिले विवाद उत्पन्न भई देशको महत्वपूर्ण समय खेर गएको उनको भनाइ छ ।

बिज्ञापन