राजनीति

गठबन्धनको बैठक जारी, सहमति नजुटे नयाँ समीकरण

बिज्ञापन

काठमाडौं । सरकार गठन र शक्ति बाँडफाँटबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

बिज्ञापन

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले प्रधानमन्त्री दाबी गरेपछि सरकार गठन पेचिलो बन्दै गएको बेला गठबन्धनको बैठक चलिरहेको हो ।

आजको बैठकमा सहमति जुटे मात्र वर्तमान सत्ता गठबन्धन कायम रहने नत्र सरकार गठनकै सन्दर्भमा फरक समीकरण तय हुने देखिन्छ ।म
प्रधानमन्त्री देउवा प्रचण्डले प्रधानमन्त्री नछाडे बाँकी रहेका सबै साना दललाई लिएर सरकार गठन गर्ने सोच बनाएका छन् भने प्रचण्डले एमालेसँग मिलेर सरकार बनाउने योजना बनाएका छन् ।

सत्तारुढ गठबन्धनको बैठकअघि कांग्रेस र माओवादीका नेताबीच दोहोरो संवाद भएको छ । कांग्रेस नेता रामचन्द्र पौडेलले प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

देउवालाई प्रधानमन्त्री बनाएर गठबन्धन जोगाउन भन्दै पौडेलले प्रचण्ड र माधवसँग प्रस्ताव राखे पनि उक्त प्रयासले सकारात्मक सन्देश दिन सकेन ।

सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री दावी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सात दिने समय भोलि सकिँदै छ । त्यसअघि नै दलहरूले प्रधानमन्त्री दाबी गर्नुपर्ने छ ।

आइतबार राती १२ बजेसम्ममा पनि दलहरूले प्रधानमन्त्री दावी गर्न नसके राष्ट्रपतिले संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

बिज्ञापन