राष्ट्रिय समाचार

अमेरिकामा लुटियो नेपाली दूतावासको सेवा शुल्क

बिज्ञापन

काठमाडौँ, पुस १० गते । अमेरिकास्थित नेपाली दूतावासले सङ्कलन गरेको सेवाशुल्क रकम लुटिएको छ। दूतावासले डिसेम्बर १५ देखि २० तारिखसम्म अमेरिकाका विभिन्न सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गर्दा सङ्कलित रकमको मनी अर्डर र चेक लुटिएको जनाइएको छ।

बिज्ञापन

दूतावासले सेवा सहजीकरण गर्ने भन्दै डल्लास, अस्टिन र ह्युस्टन सहरमा सेवा शिविर सञ्चालन गरेको थियो। सेवा सकेर ह्युस्टन सहरबाट राजधानी वासिङ्टन डिसी फर्कने क्रममा कारभित्र राखिएका सेवाशुल्कबापतको मनी अर्डर क्यासियर चेकहरू शुक्रबार मध्याह्न बाटैमा लुटिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। 

करिब १२ बजेको समयमा लुटेराहरूको एक समूहले कार तोडफोड गरेर भित्र राखेको सेवाशुल्कबापतका मनी अर्डर चेक लुटेर लगेको दूतावासले जनाएको छ। 

तत्काल ह्युस्टन प्रहरी, कूटनैतिक सुरक्षा विभाग ह्युस्टनमा उजुरी गरी लुटिएको सेवाशुल्कबापतका आर्थिक सामग्री फिर्ता लिने प्रयास भइरहेको दूतावासले उल्लेख गरेको छ। लुटिएका चेक र मनी अर्डर रद्द गर्न सेवाग्राहीलाई अपिल गरिएको छ। 

आफ्नो लापरबाहीका गल्तीका कारण लुटिएको चेक र मनी अर्डरको नयाँ व्यवस्थापनमा सेवाग्राहीलाई नै मार पर्ने गरी दूतावासले नयाँ निर्देशन अनुरोधका रूपमा दिएको छ। दूतावासले वक्तव्यमार्फत भनेको छ, “सेवाग्राहीको नजिक गएर सेवा प्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सबै नेपाली सेवाग्राहीले यथासक्य सहयोग गर्नुहुनेछ भन्ने कुरामा दूतावास आशावादी छ।”

जसअनुसार शिविरमार्फत सङ्कलित चेक र मनी अर्डरका कागजात फेरि सङ्कलन गर्नुपर्ने भएकाले व्यक्तिगत विवरण र सेवा लिएको सहरको ठेगाना खुल्ने गरी दूतावासको कन्सुलर सर्भिस क्याम्प टेकसास वा दूतावासको ठेगानामा नयाँ चेक र मनी अर्डर पठाउन दूतावासले भनेको छ। 

चेक र मनी अर्डर रद्द गर्न नसकिएमा आफूले पेस गरेको कागजातसम्बन्धी विवरण इमेलमार्फत पठाउन सक्ने व्यवस्था दूतावासले गरेको जनाएको छ। लुटिएको मनी अर्डर चेक कसैले सटही गरिसकेको पाइएमा समेत सम्बन्धित बैङ्क वा स्टोरमा बुझेर कहाँ, कसले सटही वा जम्मा गरेको सोको बेहोरा सबै बुझेर दूतावासको इमेलमार्फत जानकारी गराउन भनिएको छ। 

दूतावासले सङ्कलित रकम सामान्य सुरक्षा पनि नदिई गाडीमा राखेकै कारण लुटेराहरूको सहज पहुँच भएको हुनसक्ने अनुमान गरिएको छ। तथापि लुटपाटका कारण सेवाग्राहीको समय र स्रोतसाधनमा परेको असुविधाप्रति दूतावासले क्षमा मागेको छ। 

विदेशी कूटनीतिक निकायमाथि भएको यो लुटपाटले अमेरिकाको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै टिप्पणी सुरु भएको छ। कतिपयले दूतावासका कर्मचारीको लापरबाहीले सो घटना भएको अनुमान लगाएका छन्। 

अमेरिकामा नेपाली दूतावासको राजस्व लुटपाट भएको सन्दर्भमा त्यहाँकै कानुन र प्रहरी प्रशासनको कारबाही आकर्षित हुने नेपाल प्रहरीले जनाएको छ। तथापि अमेरिकाको प्रहरी प्रशासन र त्यहाँको फेडरल ब्युरो अफ इन्भेस्टिगेसनलाई  अनौपचारिक ढङ्गले नेपालबाट अनुरोध गर्न सकिने प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो। परराष्ट्र मन्त्रालयले पनि दूतावासमार्फत आवश्यक कारबाहीका लागि पहल भइरहेको जनाएको छ। 

बिज्ञापन